• १९ जेठ २०८२, सोमबार

मनसुन सुरु भएपछि कास्कीमा विपद् व्यवस्थापन समिति सक्रियता

blog

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे

रमेश पौडेल
पोखरा, जेठ ६ गते ।
दैनिक रूपमा वर्षा हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको बैठक बसेर सम्बन्धित निकायहरूलाई सर्तक गराएको छ । बैठकमा वर्षातको समयमा हुन आउने बाढी, पहिरोदेखि अन्य विपद्लाई तत्काल उद्धार गर्नका लागि राज्यका सबै संयन्त्रलाई तैनाथ रहन समितिले निर्णय गरेको सो समितिका अध्यक्ष एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

सो बैठकले कास्की जिल्लाभर रहेका सम्बन्धित सरकारी कार्यालयलाई आफ्नो सवारी साधनहरू उचित रूपमा एवम् मर्मतसम्भार गरी चुस्त राख्ने, जिल्ला विपद् व्यवस्थापनबाट माग भएमा तत्काल उपलब्ध गराउने, मनसुनजन्य विपद्को समयमा तत्काल प्रयोग गर्न मिल्ने गरी प्रत्येक स्थानीय तहले बाटो मर्मत गर्न प्रयोगमा आउने ग्राभेलको निश्चित परिमाण सुरक्षित भण्डारण गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्लास्थित निकाय तथा कार्यालयहरूसँग रहेका विपद् खोज तथा उद्धारका लागि स्थानीय तह, सडक डिभिजन र हेभी इक्विपमेन्ट डिभिजनसँग रहेका मेसिनरी औजारहरू चुस्त दुरुस्त अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरी कास्की जिल्लामा रहेका तालहरूमा डुङ्गा सञ्चालन हुँदा अकस्मात ठुलो हावाहुरीसँगै असिना पानी र तालहरूमा छाल आउने सम्भावना उच्च हुने हुँदा जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचनालाई आधार बनाएर मात्र डुङ्गा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल, नं. २४ हे. क्वा. कालिका गण, मालेपाटनले जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय पनि भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । विपद्सम्बन्धी कार्यहरूलाई प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान कार्यालय, पोखराले मनसुनजन्य सूचनाहरूको पहुँच पालिकास्तरसम्म पुर्‍याउनु पर्ने निर्णय भएको उहाँले बताउनुभयो ।  साथै स्वयमसेवक र कर्मचारीहरूको विवरण अध्यावधिक गरी विपद्को समयमा प्रतिकार्य र विपद् व्यवस्थापन कार्यलाई व्यवस्थित गरी राहत वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको लम्सालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नियमित बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद् प्रतिकार्यका लागि सम्पूर्ण राष्ट्रिय कर्मचारीहरू एकजुट हुनुपर्ने, उद्धार, राहात कार्यका लागि तारजालीको व्यवस्था, सडक मर्मत, विद्युत् पोलको व्यवस्था, उचित ढल निकास, सिँचाइ तथा कृषि क्षेत्रको साथै स्वास्थ्य क्षेत्रमा आउने महामारी रोकथामका लागि सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले विकास निर्माणमा अन्तर कार्यालयको समन्वय जरुरी रहेमा तत्काल काम गर्नसमेत आग्रह गर्नुभयो । कुनै पनि निर्णय हुन्छ वा हुँदैन भन्ने कुरामा जान सकिने तर अल्झाएर राख्न नहुने बताउनुभयो ।