ज्योति पन्थी
बबई (बर्दिया), जेठ ६ गते । बर्दिया, कैलाली कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनी प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
२०७६ सालमा तत्कालिन नगर प्रमुख दुर्गाबहादुर थारूको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौँले २० हजार जनामा स्किृनिङ गर्दा एक प्रतिशत रोगी, ११ प्रतिशत बाहक र १२ प्रतिशत सिकलसेल एनिमियाका बिरामी देखिएपछि बारबर्दिया नगरपालिकाले निर्माण सुरु गरेको सिकलसेल एनिमिया अस्पताल बजेट अभाव भएका कारण सञ्चालनमा आउन नसकेको हो ।
पूर्वाधार निर्माणका लागि नगरपालिकाले भवन तयार गरेको भए पनि भवनमा आवश्यक पर्ने जनशक्ति र उपकरणको अभवमा अस्पताल सञ्चालन हुन सकेको छैन । बर्दियालगायत विभिन्न तराईका जिल्लाहरूमा सिकलसेल ऐनिमिया फैलँदै जाँदा बिरामीका लागि सहज उपचारका प्रदान गर्न निर्माण गरिएको अस्पताल बजेट अभावले सञ्चालन गर्न नसकिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले बताउनुभयो । अहिले पनि सिकलसेल एनिमियाका बिरामीहरूलाई छुट्टै अस्पताल नहुँदा नगर अस्पताल वा सदरमुकाम गुलरिया पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
भवन निर्माण भए पनि त्यसमा आवश्यक जनशक्ति र उपकरणका लागि ठुलो धनराशि खर्च हुने भएपछि बारबर्दिया नगरपालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा आवश्यक सहयोग गर्न अनुरोध गरिएको बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टीकानाथ गोसाईले बताउनुभयो । परिवारमा आमा बुवालाई सिकलसेल देखिए छोराछारीलाई पनि त्यसको असर देखिने भएकाले पनि सिकलसेल एनिमिया जटिल बन्दै गएको छ । बर्दिया अस्पतालमा सिकलसेल एनिमिया परीक्षणका लागि आउने बिरामी मध्यमा १७ प्रतिशत सम्म मानिसहरूमा सिकलसेल एनिमिया देखिने गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डेले बताउनुभयो । पश्चिमि थारू समुदायमा सिकलसेल एनिमियाको प्रभाव बढी रहेको पाण्डेले बताउनुभयो ।
सिकलसेल एनिमियाको छुट्टै अस्पताल नुहँदा बर्दिया जिल्ला अस्पतालबाट हाल एक सय ५० बिरामीले सेवा लिइरहेको देखिन्छ । सिकलसेल एनिमिया अनुवंशिक रक्तअल्पता हो । सिकलसेल एनिमिया भएमा शरिरले असामान्य प्रकारको हेमोग्लोबिन बनाउछ । यो हेमोग्लोबिनका कारण रातोरक्त कोषिकाहरू सामान्य गोलो आकारको सट्टा हसिया वा चन्द्रमा जस्तो आकारमा परिणत हुने भएकाले ति कोषिकाहरू सजिलै अड्किने र रगतको बहाव रोकिदिने हुँदा त्यसपछि शरिरमा एक प्रकारको दुखाई, अङ्गमा क्षति, सङ्क्रमणको खतरा र अन्य स्वास्थ्य समस्या आउन सक्छ ।