नवीनराज कुइँकेल
लमजुङ, जेठ ६ गते । वरीपरी सेता हिमाल । हरियो खर्क, समथर मैदान । वनभरि फुलेका विभिन्न रङका गुराँस फुलले वराहपोखरी तालको सौन्दर्य बढाएको छ ।
पर्यटकीय गन्तव्य मा प्रख्यात वराहपोखरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पर्छ । प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्त्वको यस क्षेत्रमा आन्तरिक पर्यटकहरू आकर्षित हुन थालेका छन् ।
यसअघि वैशाख र भदौ पूर्णिमामा पूजाआज गर्न भक्तजनहरू पुग्ने गर्दथे । तर आजभोली वराहपोखरीको सौन्दर्यमा रमाउन जुनसुकै समयमा पनि पर्यटकहरू पुग्ने गरेका छन् । यहाँ दैनिक १०/१५ जनाको समूहमा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।
समुन्द्री सतहबाट तीन हजार दुई सय मिटर उचाइमा रहेको बाह्रपोखरीबाट अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाअन्तर्गतका दर्जनौ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण यस क्षेत्रको संरक्षण गर्नसके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकसमेत तान्न सकिन्छ ।
यहाँ मानव बस्ती नहुँदा खानाको व्यवस्था आफैँ गर्नुपर्छ । उच्च लेक र बढी चिसो भएकाले जुुनसुकै समयमा पनि बाक्ला कपडा लिएर जानुपर्छ । गर्मी मौसममा भेडीगोठ र गाईगोठ पोखरी नजिकैका खर्कहरूमा पुग्छन् । खर्कमा भेटिने भेडिगोठलेपनि पदयात्रीलाई रोमाञ्चित बनाउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
बराहपोखरी पदयात्रा गरेर फर्कनुभएका आन्तरिक पर्यटक अनुज अधिकारीका अनुसार बाह्रपाखरी क्षेत्रमा एउटा मात्र ठाँटी छ । त्यहाँ भएको ठाँटीमा सबै पदयात्रीहरु अटाउँदैनन् । टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर बस्न सकिन्छ । वराहपोखरी जानका लागि मर्स्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेबाट भुष्मेहुँदै र सदरमुकाम बेँसीसहरबाट चिति माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै, छिनखोला, दुबारबाट पनि एकै दिनमा वराहपोखरी पुग्न सकिने स्थानीय अजय तामाङले जानकारी दिनुभयो ।