ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ६ गते । हालै नवनियुक्त नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा(खम्बिर) यतिखेर गृह जिल्ला म्याग्दी आउनुभएको छ ।
राज्यमन्त्रीमा नियुक्त भएपछि उहाँ पहिलो पटक जिल्ला आउनुभएको हो । आइतबार म्याग्दी आउनुभएका राज्यमन्त्री गर्बुजा अहिले जिल्लाको समस्या र जनताको गुनासो सङ्कलन गर्न गाउँ अभियानमा हुनुहुन्छ । गाउँ पुग्नुभएका राज्यमन्त्री गर्बुजालाई स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरूले विकास निर्माणका योजना, समस्या र गुनासो टिपाउनुका साथै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
पार्टी कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधि सहित गाउँ अभियानमा जानुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो, ‘‘जिल्लावासीको समस्या र जनताको गुनासो सङ्कलन गर्न जिल्लामा आएको छु । सङ्कलन भएका समस्याहरूलाई सिंहदरबारसम्म पुर्याउँछु ।’’
गाउँ अभियानमा हुनुभएका राज्यमन्त्री गर्बुजासँग नदी नियन्त्रण, सिँचाइ, खानेपानी, सडक पूर्वाधारलगायतका मागहरू स्थानीयले राखेका छन् । सोमबार राज्यमन्त्री गर्बुजाले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयसँग छलफल गर्नुका साथै स्थानीयको समस्या सङ्कलन गर्नुभएको उहाँको निजी सचिवालय प्रमुख श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको दरबाङ–मुना–ढोरपाटन–पूर्वी रुकुम जोड्ने सडक आयोजनालाई बजेट विनियोजन गरी अगाडि बढाउन स्थानीयले माग समेत गरेका छन् । राज्यमन्त्री गर्बुजाले जनताको मागलाई सिंहदरबारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत् आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षति रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ, तातोपानी बजार, बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना सञ्चालन हुने बताउनुभयो ।
मङ्गलबार राज्यमन्त्री गर्बुजाले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पनि निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आयोजना निर्माणलाई ढिलासुस्ती नगरी समयमै सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।