• १६ असार २०८१, आइतबार

यातायात भाडा बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २८ गते । सार्वजनिक यातायातको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले शुक्रबार सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । 

विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा २ दशमलव ५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ३ दशमलव ३ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ३ दशमलव ७ प्रतिशत मूल्य बढेको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल लिटरको आठ रुपियाँ र डिजेल १२ रुपियाँ बढाएसँगै स्वचालित रूपमा सवारीसाधनको भाडा पनि बढेको हो । मूल्य बढेसँगै पेट्रोल १७८ रुपियाँ लिटर र डिजेल १६५ रुपियाँ प्रतिलिटर पुगेको छ । 

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा बढ्न वा घट्ने व्यवस्था हुन्छ । सोहीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले यातायातको भाडा बढेको हो । बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ ।

स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ । जेठको महिनामै दुुई पटक गाडी भाडा बढेको छ भने एक पटक घटेको छ । जेठ महिनामा तीन पटक डिजेल पेट्रोलको मूल्य बढेको छ भने एक पटक घटेको छ ।