गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ६ गते । ‘करुणा’ (आत्मकथा) पुस्तकका सर्जक राधिका शाक्यले राजनीतिमा आउनका लागि नभई आफूलाई लागेका विषयवस्तु कृतिमा उल्लेख गरेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेरणाले कृति रचना गरेको बताउनुभयो । प्रेस चौतारी नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको संवादमा उहाँले आफूमा राजनीतिमा आउने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफू एक सामान्य नेपाली नागरिक भएको र आफ्नो विचार किताबमार्फत व्यक्त गरेको बताउनुभयो ।
“अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता कता प्रश्न गरेको मैले सुनेकी छु तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि छ छैन; मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन,” उहाँले भन्नुभयो, “मलाई लागेको कुरा ‘डकुमेन्ट्स’ गर्न मात्र यो किताब लेखेकी हुँ । यसलाई मैले आफ्नो सम्पत्तिका रूपमा लिएको छु ।” उहाँले थप्नुभयो, “मलाई जे देखे पनि माया लाग्छ, त्यसैले कृतिको नाम ‘करुणा’ जुराएकी हुँ तर पुस्तक लेख्ने प्रेरणा भने श्रीमान् केपी शर्मा ओलीबाट पाएकी हुँ ।” “नेपाललाई माया गर्ने, विकास गर्ने र अध्ययनका सवालमा केपी सरसँग समान धारणा छ” भन्दै प्रथम महिला शाक्यले देशमा विद्यमान राजनीतिक अस्थिरताकै कारण विकास नभएको बताउनुभयो । बनेकै दिनदेखि सरकार ढल्छ भनेर कर्मचारीको मनोबल कमजोर पार्ने काम हुने गरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
देश विकासका लागि सबै नेपालीको साझा प्रयासको खाँचो रहेको चर्चा गर्दै शाक्यले भन्नुभयो, “एक व्यक्तिले, प्रधानमन्त्री वा राष्ट्रपतिले मात्र चाहेर देश बन्ने होइन; सबैको हातेमालो र साझा प्रयास भयो भने मात्र देश समृद्ध बन्न सक्छ । त्यसप्रति सबै नेपाली सकारात्मक बन्न सक्नु पर्छ ।” यसअघि आफूले ‘मेरो अनुभूति’ कृति लेखेको बताउँदै उहाँले आफू लेखिका नभएको बताउनुभयो । जीवन भोगाइका व्रmममा नोट गरिएका विषयवस्तु सङ्कलन गरेर पुस्तकाकार बनाएको उहाँको भनाइ थियो । लेख्नुपर्ने विषय अझै थुप्रै भए पनि समय व्यवस्थापनको अभावले लेख्न नसकिरहेको उहाँले प्रस्ट पार्नुभयो । समय व्यवस्थापन भएमा थप कृति लेख्ने चाहना भने आफूमा रहेको उहाँले प्रस्ट पार्नुभयो ।
वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. देवी नेपालले ‘करुणा’ प्रथम महिला राधिका शाक्यको जीवनको समवेदना, सङ्कल्प र सङ्घर्षको कथा भएको बताउनुभयो । समाजमा सत्यको उद्घाटन हुँदा शङ्का गर्ने प्रवृत्ति हावी रहे पनि ‘करुणा’ मा शाक्यद्वारा सत्य उद्घाटित भएको चर्चा उहाँले गर्नुभयो । वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रथम महिला शाक्यको जीवन सबैका लागि प्रेरणास्रोत बन्न सक्ने बताउनुभयो । नेपाली समाजमा पुरुषले महिलालाई विवाह गरी भिœयाउने चलन भए पनि शाक्यले केपी सरलाई घरमा भिœयाउनुभएको चर्चा उहाँले गर्नुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा कृष्णमुरारी भण्डारी, उमेश चौहान, मातृका पौडेल, टीकाराम यात्री, कोषराज कोइराला, उत्तम सिलवाल, लक्ष्मण सिटौला, बालकृष्ण बस्नेत, लक्की चौधरी, सागर पण्डितलगायतले लेखिका शाक्यलाई पुस्तकबारे जिज्ञासा राख्दै सुझाव दिनुभएको थियो ।