गोरखापत्र संवाददाता
काठमाडौं, जेठ ५ गते । युवा साहित्यकार बिपिनचन्द्र बनेपालीको गजल सङ्ग्रह ‘बिस्मयको घेराबाट’ सार्वजनिक भएको छ। काठमाडौंको कोटेश्वरस्थित ग्रामर स्कुलमा आयोजित कार्यक्रममा लेखक मोहन दुवाल, ध्रुव माधिकर्मी, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, ईश्वर बुढाथोकी, जयकुमार राई तथा लेखक बनेपालीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
सिर्जना अभियान भक्तपुरद्वारा आयोजित उक्त कार्यक्रममा दुवालले बनेपालीका गजलहरू विचार र सौन्दर्यको सन्तुलनयुक्त अर्थपूर्ण गजलहरूको उत्कृष्ट उदाहरण भएको टिप्पणी गर्नुभयो । “अल्पशब्दमै धेरै कुरा अभिव्यक्त गर्न सक्ने सामर्थ्य उहाँको गजलमा छ” दुवालले भन्नुभयो।
माधिकर्मीले बनेपालीका गजलहरूमा सामाजिक विकृतिविरुद्ध प्रखर भाषिक प्रतिवाद पाइने उल्लेख गर्दै ती गजलहरूले पाठकलाई मन्त्रमुग्ध पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, “अझै लेखनमा निखार आवश्यक छ, तर केही गजलहरू साँच्चिकै मन छुने छन्।”
वक्ताहरू सरित, राई, बुढाथोकी, प्रकाश थापा लगायतले बनेपालीले जटिल विषयवस्तुलाई सरल भाषामा प्रस्तुत गर्न सक्ने क्षमताको चर्चा गर्नुभयो । सिर्जना अभियान भक्तपुरद्वारा प्रकाशित सङ्ग्रहमा ५७ वटा गजल छन् ।
दत्तात्रेय, भक्तपुरका वासिन्दा बनेपाली लघुकथा र बालकविताका लेखक समेत हुनुहुन्छ । यसअघि उहाँले बाल कवितासङ्ग्रह ‘घाम जून रमाइलो’ प्रकाशित गरिसक्नुभएको छ ।