• १६ असार २०८१, आइतबार

आउन थाल्यो मल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २८ गते  । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको २० हजार मेट्रिक टन डीएपी मल आइपुगेको छ । सो मल आगामी हप्तादेखि बिक्री वितरण गर्ने तयारीमा रहेको साल्ट्र ट्रेडिङले छ । साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २० हजार मेट्रिक टन डीएपी नेपाल आइसकेको छ । बिक्री केन्द्रमा पठाउने काम सुरु भएको छ, आइतबार वा सोमबारदेखि बिक्री वितरण सुरु हुन्छ । 

यसबाहेक २२ हजार मेट्रिक टन युरिया कोलकाता बन्दरगाहमा आइपुगेको र त्यो पनि आगामी हप्तामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ता, २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो हप्तादेखि र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्ता तथा भारतबाट जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट खरिद हुने ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्म नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ । 

भारतसहित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको मिलाएर एक लाख १० हजार मेट्रिक टन डीएपी र ८२ हजार मेट्रिक टन युरिया वर्षे धान खेतीका लागि नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यी सबै मल समयमा नेपाल आइपुग्यो भने वर्षे धानका लागि समस्या नहुने उहाँले दाबी गर्नुभयो ।