काठमाडौँ, जेठ ५ गते । लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस सम्पन्न भएको छ ।
‘नारी स्रष्टा समाज’ले काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजना गरेको ‘ममता मृदुलसँग लघु कथामा बहस’ कार्यक्रममा कोइरालाका कथाहरुमाथि बहस भएको हो ।
वरिष्ठ नाट्यगुरु अशेष मल्लको प्रमुख आतिथ्य तथा वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, लघुकथा समाज नेपालका संस्थापक तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ट ‘रोदन’, लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला र सिर्जना अभियानका अध्यक्ष ध्रुव मधिकर्मीको विशिष्ट आतिथ्यमाकार्यक्रम सम्पन्न भएको हो ।
लघुकथा समाजका उपाध्यक्ष तुलसहरि कोइरालो रमेन्द्र कोइरालाको व्यक्तित्व र लघुकथाकारिताका सम्बन्धमा चर्चा गर्नुभयो । लघुकथाकार पिपि कोइरालाले जेठो दाइ रमेन्द्रको सङ्घर्ष, परिवारको कठोर जिम्मेवारी निर्वाह गर्दै पनि प्रगति गरेको आदि चर्चा गर्नुभएको थियो ।
कथाकार कोइराला र उहाँका कथाकृतिहरुलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा लोकप्रिय नाट्यकर्मी भरत गुरागाई बर्बरिकले कथाकार कोइरालो ‘कपाल’ लघुकथाको कलात्मक अभिनय गर्नुभएको थियो ।
नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले चलाउनुभएको कार्यक्रममा विभिन्न भूमिका निर्वाह गर्ने र रमेन्द्र कोइरालाको ‘फाटेको चप्पल’, ‘जडौरी’ र ‘डोरी’ लघुकथा सङ्ग्रहको केही लघुकथा वाचन गरिएको थियो ।
अध्यक्ष मृदुलले बहस कार्यक्रमले लघुकथाको विकासमा टेवा पुग्ने विश्वास गर्दै आगामी दिनमा बहस थप प्रभावकारी रुपमा अघि बढाइने बताउनुभयो । कार्यक्रममा लघुकथाको सैद्धान्तिक पक्ष र लघुकथाको वर्तमान अवस्थाबारे विश्लेषण गरिएको थियो ।
कार्यक्रममा लघुकथाकार दिव्य गिरी, धन्वन्तरी मिश्र कात्यायन, रोशन पराजुली, दीपक लोहनी, पिपी कोइराला, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, तारा केसी, रन्जु खनाल, एन्जल निलु, शान्ता तिम्सिना, प्रार्थना खनाल, रामकुमार पण्डित, छोरा आकाश कोइराला, ललिता दोषी, साहित्यकार विक्रमभक्त जोशी आदिले लघुकथा वाचन गर्नुभएको थियो ।