राममणि दाहाल
मकवानपुर, जेठ ५ गते । बागमती प्रदेश सभाका प्रदेश सभाभुख भुवनकुमार पाठकले प्रदेश सभाको सोह्रौ अधिवेशन कानुन निर्माण कार्यमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेश सभाको सोमबारबाट सुरुभएको सोह्रौँ अधिवशेनको शुभारम्भमा शुभकामना व्यक्त गर्दै उहाँले यो अधिवशेन नागरिकका साझा अपेक्षाहरू पूरा गर्न फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सभाका गतिविधिहरूलाई नागरिकले नजिकबाट नियालिरहेको अवस्थामा प्रदेश सभा सदस्यहरूले आफ्नो प्रस्तुति र क्रियाकलाप प्रभावकारी रूपले प्रस्तुत गर्ने अपेक्षा आफूले अपेक्षा राखेको बताउनुभयो ।
प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय नेताका शालिकराम जम्कट्टेल दुई ठुला दलको सरकार बनेपछि अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकारलाई ढाल्न मरिमेटेर नलाग्ने बताउनुभयो ।
दुई ठुला दलको सरकार बनायौ पाँच वर्ष टिक्छ यो ढल्दैन ढल्दैन भन्नुहुन्छ यही सुनिन्छ, नढल्नुस् तपाईंहरू, हामी सके त ढाल्न खोज्छौ यो प्रतिपक्षको धर्मै हो उहाँले भन्नुभयो । तर हामी मरिमेटेर सरकार ढाल्न लाग्दैनौ, नढल्नुस् हाम्रो शुभकामना छ ।
सरकारमा बस्ने दलमा ठुलो दम्भ छ, मन्त्रीहरूमा पनि दम्भ छ, मन्त्रीबिचमा एकता छैन, मुख्यमन्त्रीको निर्देशनमा मन्त्रीहरू हुनुहुन्न । दम्भ र घमण्ड नदेखाउनुस्, दम्भ र घमण्ड देखाउँदा त्यसको परिणाम के हुन्छ भन्ने आँकलन गर्नुपर्ने उहाँले भन्नुभयो ।
नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले विपद्को समयमा सङ्घीय सरकारले गर्न नसकेका काम प्रदेश सरकारले गरेको र तत्काल राहत दिने काम भएको भन्दै बागमती प्रदेशको भूगोल कमजोर रहेकोले हाम्रा पूर्वाधारमा पुनर्विचार गर्नु पर्ने अवस्था आएको बताउनुभयो ।
हामी सबैको साझा सोच प्रदेशवासी र प्रदेशको हित हो भन्दै उहाँले भन्नुभयो, हामी सत्तामा बस्दा तल नदेख्ने र सत्ता बाहिर हुँदा माथिका नदेख्ने र छटपटाइरहने राम्रो होइन, साझा दृष्टिकोण बनाएर जानुपर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले संसद प्रतिपक्षको हो तर संसद, संसद जस्तो भएन भन्दै संसदलाई सरकारबाट उपेक्षा गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रतिपक्षले बजेट नपाउने भनेर भन्ने हो भने हामी बजेटको पनि उच्चारण गर्दैनौ । ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले राजनीतिमा अपराधीकरण भित्रेको भन्दै अधिकार लिनेबाट अधिकार दुरुपयोग राकिनुपर्नेमा जोड दिनुभयो । उहाँले यो आवमा बजेट आउनु पूर्व नै तमसुक भए पनि कार्यान्वयन नभएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्र राज गोसाईले औपचारिकतामा मात्र संसदलाई राख्नु जनताप्रति विश्वासघात हो भन्नुभयो । अहिलेका ठुला दलहरू पालैपालो सरकारमा गए पनि किन प्रणाली नबसेको होला ? कसले रोक्यो सिस्टम बनाउन किन बनेन उहाँले प्रश्न गर्नुभयो ।
हाम्रो नेपाली पार्टीकी सरिता खड्गीले आगामी नीति तथा कार्यक्रममा वातावरणको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाउँदै पारदर्शी र परिणाममुखी बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख पाठकले प्रदेश सभाको सोमबारको सबै विषय कार्यसूचीबाट हटाइएको भन्दै गंगलबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।