• ५ जेठ २०८२, सोमबार

बस र म्याजिक ठोक्किँदा एकको मृत्यु, आठ घाइते

blog

दुर्घटनामा परेको बस । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ५ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्ज घिमिरे चोकमा सोमबार अपराह्न बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

रानीगन्जस्थित पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाइएको ठाउँमा सोमबार अपरान्ह पौने ५ बजेतिर विराटनगरबाट मलङ्गवाका लागि छुटेको ना. ६ ख. ७२२७ नम्वरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज. २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै वीरसिंह पन्तकी छोरी २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनाका घाइते आठ जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुुभयो । केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

मृतक युवतीको शव सोही अस्पतालमा रहेको प्रहरी निरीक्षक जोहारीले बताउनुुभयो । घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताउनुुभयो । 

ट्राफिक इन्स्पेक्टर घिमिरेका अनुसार म्याजिकलाई घटनास्थलबाट निकालिएको छ भने बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याजिकका चालकसमेत घाइते  छन् । 

बसका चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरी निरीक्षक जोहारीले बताउनुुभयो ।