• ५ जेठ २०८२, सोमबार

नारायणघाट–बुटबल सडक

‘अब ९४ किलोमिटर कालोपत्रे सडकमा यात्रा गर्न पाउनुहुन्छ’

blog

बोमलाल गिरी

नवलपुर, जेठ ५ गते । नारायणघाट–बुटबल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको जनाएको छ । 

आयोजनाले सोमबार एक विज्ञप्ती जारी गर्दै अव ११३.५३ किलोमिटर सकडमध्ये ९३.९४ किलो मिटर कालोपत्रे सडक भएर यात्रा गर्न सकिने जानकारी दिएको हो । 

कालोपत्र गरिएकोमध्ये ३.०७ किलोमिटर क्षेत्र पुलले ओगटेको छ भने ११०.४६ किलोमिटर सडक रहेको छ । पुल बाहेक ९०.८७ किलोमिटर सडकको भाग रहेको छ । 

यसरी हेर्दा कुल ११३.३५ किलोमिटरमध्ये हाल ९३.९४ किलोमिटर अर्थात कुल लम्बाईको झण्डै ८३ प्रतिशत भाग पक्की सडक भएर यात्रा गर्न सकिने आयोजनाको भनाइ छ । 

बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र अन्तिम चरणमा पुगेको छ आयोजनाले दावी छ । 

साथै सडक ढलान गर्ने काम पनि समानान्तर रुपमा जारी रहेको बताइएको छ । हालसम्मको भौतिक प्रगति ६६.५० प्रतिशतको हाराहारीमा रहेको विज्ञप्तीमा उल्लेख छ ।

दाउन्नेको झण्डै १४ किलोमिटर कालोपत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निक्कै कष्टकर रहेको यात्रुहरुको भनाइ छ । दाउन्ने बाहेक दुम्कीवास र चोरमारा पुल तथा बजार खण्डमा पनि कालोपत्रे हुन सकेको छैन । 

तेस्रो समय अन्तिम पटक भन्दै थपिएको म्याद सकिन दुई महिना मात्र बाँकी हुँदा आयोजनाले प्रगती विवरण सार्वजनिक गरेको हो । अन्तिम पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।