• १ असार २०८२, आइतबार

उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशन

२०८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह

blog

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ५ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताउनुभएको हो ।


“समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ ।’’, अध्यक्ष ओलीले भन्नुभयो, “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुष्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्ने छ ।’’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गर्नुभयो । महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्ने छ ।