• १५ असार २०८१, शनिबार

विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी यार्सा टिप्न व्यस्त

blog

राजु लामिछाने

रुकुमपूर्व, जेठ २७ गते ।  रुकुम पूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनका लागि गएका हुन् । 

विद्यार्थीहरु बुकीपाटन गएपछि विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । विद्यार्थीहरु नआउने भएपछि शिक्षकहरु पनि यार्सा संकलनका लागि जानुभएको छ ।  

पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथा हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले यार्सा सिजन सुरु भएसँगै जेठको ७ गतेबाट विद्यालय बन्द भएको बताउनुभयो । यस क्षेत्रमा यार्सा सिजन सुरु हुनेबित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैन । विद्यार्थी नहुँदा विद्यालय बन्द हुने र शिक्षकहरु पनि यार्सा संकलनको लागि पाटन जाने गरेको प्रधानाध्यापक पुनले बताउनुभयो । 

उहाँकाअनुसार रन्मा, मैकोट, पेल्मा क्षेत्रका विद्यालयमा वर्षे बिदालाई कटाएर यार्सा सिजनमा मिलान गर्ने गरिएको छ । यार्सा संकलनका लागि विद्यालय बन्द हुने र बर्षे बिदा गर्दा कोर्स पूरा नहुने भन्दै यस क्षेत्रमा बर्षे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको प्रधानाध्यापक पुनको भनाई छ । 

जिल्लाको माथिल्लो क्षेत्रका नागरिकहरुको मुख्य रोजीरोटीको पेशा भनेकै यार्सा संकलन र बिक्रिवितरण रहेको छ । एक सिजनमा यार्सा संकलन गरेर वर्षभरीको खर्च धान्ने समुदाय भएकाले विद्यालय बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा संकलन गर्न जानेगरेको मैकोटका विकास पुनले बताउनुभयो । अहिले माथिल्लो क्षेत्रका बस्तिमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुनेगरेको स्थानीयको भनाई छ । यार्सा संकलनका लागि स्थानीयहरु पाटन उक्लिएपछि गाउँ सुनसान भएको पुनले बताउनुभयो । 

यार्सा सिजनका लागि बन्द भएका गाउँपलिकाका तीन वडाका बिद्यालय अब केही दिनमै खुल्ने उहाँको भनाई छ । मैकोट क्षेत्रका विद्यालय असार २ गतेबाट खोल्ने तयारी गरिएको छ । विगतका वर्षहरुमा जेठ पहिलो साताबाट बन्द भएका विद्यालय असार १० मा मात्र खुल्ने गरेका थिए । यस वर्ष यार्सा कम भएका कारण विद्यार्थीहरु अलि छिटो गाउँ फर्कनेक्रम चलिरहेको कारण छिटै विद्यालय खुल्ने बताइएको छ । 

पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फुलबारी, दङ्ला, पानीदाल, अरगिजा लगायतको क्षेत्रका स्थानीयहरु यार्सा टिप्न जानेगरेका छन् ।