• १३ साउन २०८१, आइतबार

प्रदेश सरकार संघीयता कमजोर बनाउन लागेको पूर्वमुख्यमन्त्री राईको आरोप

blog

विराटनगर, जेठ २७ गते। पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार ठिक ढंगले नचलेको र संघीयताको अभ्यासलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभएको छ। 

पदबाट राजनीनामा दिएपछि पहिलो पटक शुक्रबार प्रदेशसभा बैठकमा बोल्नुहुँदै पूर्वमुख्यमन्त्री राईले सरकार कमिशनतन्त्रमा फसेको र भूमाफियासँग मिलेमतो गर्न थालेको आरोपसमेत लगाउनुभयो। 

सरकारले सदनमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अघिल्लो सरकारकै नीति तथा कार्यक्रम कपिपेस्ट गरेर सदनमा ल्याएको भन्दै यो सरकारले केही काम नगरेको टिप्पणी गर्नुभएको हो।

सरकारको नीति नीति कार्यक्रमले प्राथमिकता भुलेको भन्दै उहाँले भन्नुभयो, ‘‘कतिबेला झोली तुम्बी बोकेर हिँड्नु पर्ने भएर हो कि कुनै धन्दामा दिमाग भएर हो पूर्ववर्ती सरकारले गरेको सबै काम मैले गरेको भनेको ? कुन निन्द्रामा सुतेको थियो यो सरकार ? अलिकति असहज लाग्दैन ?’’

विद्यार्थीलाई लक्षित गरेर ल्याइएको म अघि बढ्छु भन्ने कार्यक्रम बन्द गरेको र सरकारले विवादित व्यक्तिलाई नियुक्ति दिएको विषयमा उहाँले आलोचना गर्नुभयो। 

प्रदेश सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथिको छलफलमा शुक्रबार प्रदेशसभा सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, उषाकला राई, जीवन घिमिरे, तुलसी न्यौपाने, बलबहादुर साम्सोहाङ, विमल कार्की, राजकुमार ओझा, बुद्धिकुमार राजभण्डारीलगायत सहभागी हुनुभयो।