राममणि दाहाल
मकवानपुर, जेठ ३ गते । अभिनेता राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को प्रवर्धन र प्रचारको क्रममा चलचित्रका कलाकारदेखि निर्मातासम्मको टोली हेटौँडा आइपुगेको छ ।
यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहा अवतार’ को प्रचारप्रसारको क्रममा देश दौडाहामा रहेको टोलीले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी चलचित्र ‘नरसिंहा अवतार’ विविध आयाम, अन्य चलचित्रभन्दा फरकपक्षलगायतका बारेमा जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा निर्माता नरेन्द्र महर्जनले लामो प्रयासपछि महानायक राजेश हमाललाई लामो प्रयासपछि चलचित्रमा ल्याउन सफलभएको जानकारी दिनुभयो । चलचित्रको कथाको माग अनुसार नै राजेश हमाललाई चलचित्रमा भित्र्याइएको महर्जनको भनाइ छ ।
देशमा रहेको विकृति, विकृति लगायतका सवाललाई चलचित्रले उठान गरेको निर्माण पक्षको जिकिर छ । पत्रकार सम्मेलनमा निर्माण नरेन्द्र महर्जनले भन्नुभयो, चलचित्रको कथाको माग अनुसार नै राजेश हमाललाई फिल्म भित्राइएको छ ।
अर्का निर्माता दीपक शर्मा ढकाल र धु्रव न्यौपानेले यो चलचित्रबाट महानायक राजेश हमालले आठ वर्षपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन भएकोले दर्शकको माया पाउने प्रति विश्वस्त रहेको बताउनुभयो । सो अवसरमा चलचित्रका नायक राज कटुवाल र सनिशा भट्टराईले चलचित्रमा कथा अनुसार आफूहरु भूमिका निर्वाह गरी न्याय गरेको र दर्शकले पनि न्याय गर्ने बताउनुभयो ।