• ३ जेठ २०८२, शनिबार

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्‍योः शिक्षामन्त्री पन्त

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरूको बिचबाट नेपाली भाषामा लेखेर महत्त्वपूर्ण काम गरेको बताउनुभयो । नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो ।

उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गर्नुभयो ।

‘‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस गर्‍यौं । के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथरि भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम गर्‍यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम गर्‍यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रूपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरूको बिचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पुर्‍याउने काम गर्‍यो । प्रश्रितजीसँग हामीले बहस गर्‍यौं ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषाङ्कमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपी नेपालका राजनीतिक नेताहरूले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमीबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौं । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौं । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’’

उहाँले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भूमिका पनि स्मरण गर्नुभयो ।