काठमाडौँ (गोरखापत्र), जेठ ३ गते । रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम’ को शुक्रबार एक कार्यक्रम गरेर घोषणा गरिएको छ । मधेशकेन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेको छ । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।
मधेशबारे बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चलचित्रमा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ ।” दासले मधेशकेन्द्रित चलचित्र सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको बताउनुभयो ।
चलचित्रको कथा निर्देशक दासको रहेको छ भने पटकथा युवराज भट्टराईले लेख्नुभएको छ । चलचित्र नीरज कँडेलले छायाङ्कन गर्नुहुने छ । चलचित्रका अन्य कलाकार केही समयपछि सार्वजनिक गरिने जानकारी दासले दिनुभयो । चलचित्र यही वर्षको अन्त्यतिर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।