जनार्जन खत्री
सर्लाही, जेठ ३ गते । सर्लाहीमा शुक्रवार बेलुकाको हावाहुरीमा परेर छ जना घाइते भएका छन् । हावाहुरी चलेपछि भाग्नेक्रममा हरिपूर्वा नगरपालिका ६ का ५० वर्षीया सुमीदेवी साह दुई तले घरको भुई तल्लाबाट लडेर घाइते हुनुभएको छ । साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
हरिपुर नगरपालिका २ सानोजतपुरमा हरिवन नगरपालिका ५ का १८ वर्षीय बलिराम महतोले चलाएको बा ४० प १५३० र हरिवन ५ कै गङ्गाराम महतोले चलाएको मधेस प्रदेश २–००७ प ८३८६ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेर लाग्दा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् । उनीहरू नमुना अस्पताल हरिवनमा उपचारपछि राति नै डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १२ बाँके जङ्गलको लच्का नजिकै पूर्व तर्फ गइरहेको मधेस प्रदेश ०४–००१ च ०२७७ नम्बरको पिक अप गाडी सडक छेउमा ढलेको रुखमा गएर ठोक्किँदा चालक घाइते भएका छन् । घाइते पिक अप चालक पर्सा गाउँपालिका ४ का ३५ वर्षीय राजनारायण महतो लाल बन्दीमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका ५ घुर्कौलीमा ७५ वर्षीया दलेमुन खातुन आफ्नै घरको किराना पसलमा बसिरहेको अवस्थामा पसलको जस्तापाता खसेर लाग्दा घाइते हुनुभएको छ । उहाँको नमुना अस्पताल हरिवनमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
बागमती नगरपालिका २ धरहरामा ३८ वर्षीय नवराज राय क्षेत्री मकैबारीमा काम गर्नेक्रमा रुखको हाँगा भाँचिएर लाग्दा घाइते हुनुभएको छ । उहाँलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ लगिएको परिवारले जनाएको छ ।
हावाहुरीबाट हरिवनस्थित इलाका प्रहरी कार्यालयभित्र राखिएको हरिवन प्रहरीकै नाममा रहेको बा. एसिसी ३४०९ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा रुख ढलेर किच्दा क्षति पुगेको छ । हावाहुरीले बरहथवा नगरपालिका ९ मुर्तियामा रुख ढलेर नयाँरोड–बरहथवा–मधुवनी सडक अवरद्ध भएकोमा डेढ घण्टापछि प्रहरी, वन कर्मचारी र यात्रु भएर ढलेको रुख हटाएपछि राजमार्ग सूचारु भएको छ ।
गोडैता नगरपालिका–१२, मधुवनीगाउँमा सन्जिव पासवानले काठ र फुसले घर निर्माण गरेर रामनगर गाउँपालिका ७ का उमेश साहलाई होटल संचालन गर्न दिएकोमा शुक्रवार बेलुकाको हावाहुरीले घर नै भत्काएको छ । होटल संचालन भइरहेको फुसको घर पूर्णरुपमा ढल्दा ६० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।
सर्लाहीसहित आसपासका जिल्लामा शुक्रवार बेलुका तीव्रगतिमा हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले भित्र्याउने बेला भएको र घोगा लाग्ने बेला भएको मकैमा व्यापक क्षति गरेको किसानले बताएका छन् ।
हावाहुरीले जताततै आँप र लिचीका चिचिला झारेर क्षति पुु¥याएको छ । केराको बोट तथा तरकारीको थाङ्ग्रा लढाएर लहरे तरकारीमा क्षति गरेको किसानले गुनासो गरेका छन् ।
केही स्थानीयको कच्ची घरका जस्ता, टायल र खपडा उडाएको गाउँलेले जानकारी दिएका छन् । शुक्रवार साँझ ६ बजेपछि करिव आधा घण्टा तीव्रगतिमा हावाहुरी चल्दा जनजीवन अस्तब्यस्त बनेको थियो ।
हावाहुरीपछिको वर्षाले भने विशेष गरी चुुरेवर्ती क्षेत्रका किसानलाई फाइदा पुगेको छ । पानी पर्न नसक्दा किसानले भर्खरै रोपेको सँठिया मकै, चैते धान र कोदो बाली सुकेर गइरहेको थियो ।
त्यस्ता किसानलाई हिजो बेलुकाको पानीले ठूलो राहत मिलेको छ । हावाहुरीपछि जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल ढल्दा ग्रामीण भेगमा शनिवार बिहानसम्म बिजुली बत्ती अवरुद्ध रहेको छ ।
विद्युत् तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्राविधिक शनिवार बिहानैदेखि मर्मतका खटिएका छन् ।