• ३ जेठ २०८२, शनिबार

एक सातामा पचपन्न जना पुगे सगरमाथा चुचुरो

blog

फाइल तस्विर

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३ गते  ।  सन् २०२५ को वसन्तयाममा सगरमाथा आरोहणका लागि अनुमति लिएका ४६८ जनामध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएका ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषमध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका हुन् ।

विभागको पर्वतारोहण शाखा निर्देशक हिमाल गौतमले भन्नुभयो, “यो वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ५७ देशका आरोहीले अनुमति लिएका छन् । आरोहण अनुमति 

लिनेमा सबैभन्दा बढी अमेरिका, चीन र भारतबाट रहेका छन् ।”

यसअघि सन् २०२३ को वसन्तयाममा हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

प्रतिकूल मौसमका कारण पछिल्ला दुई दिनमा सगरमाथामा कुनै आरोहण हुन नसकेको जनाउँदै उहाँले विभिन्न आधार शिविरमा रहेका आरोही आरोहण पूरा गर्न उपयुक्त मौसमको पर्खाइमा रहेको बताउनुभयो ।

सरगमाथा आरोहणको अनुमतिबापत हालसम्म ६९ करोड १२ लाख ७१ हजार ८१७ रुपियाँ रोयल्टी जम्मा भएको उहाँले जानकारी दिनुभयो । विभागले आरोहण अनुमति दिएका २७ वटा हिमालबाट शुव्रmबारसम्म ७९ करोड ४२ लाख २४ हजार ६३२ रुपियाँ सरकारी कोषमा राजस्व दाखिल भएको उहाँले बताउनुभयो ।

वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपिडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले गत शुव्रmबार बेलुका ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर यो यामको आरोहण सुरु भएको हो । पछिल्लो एक सातामा ५५ जना आरोही चुचुरोमा टेकेर फर्किएका छन् ।