• १७ असार २०८१, सोमबार

सोलार लिफ्टमार्फत सुनकोशीबाट सिँचाइ व्यवस्था

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २७ गते । सुनकोशी नदी छेउमै रहेको बलखुबेँसीका खेतहरु सिँचाइ सुविधाबाट वञ्चित भएका बेला सोलार लिफ्टिग मार्फत सिँचाइको व्यवस्था गरिएको छ । सिंचाइ व्यवस्था भएपछि किसान खुशी भएका छन् । 

सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ मा १९ लाख र आर्थिक वर्ष २०७८–७९ मा चार लाख ५७ हजार रुपियाँ बजेट विनियोन गरी लिफ्टिङ योजना सञ्चालन गरिएको निवर्तमान गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । 

बाँकी स्थानीय उपभोक्ताहरुको लगानिबाट कुल ३० लाखमा उक्त योजना सन्पन्न गरिएको अधिकारीले बताउनुभयो । गाउँपालिकाको सबैभन्दा बढी धान उत्पादन गरिने बलखुबेसीँमा देखिएको सिँचाइ समस्या समाधानका लागि सोलार लिफ्टिङ्ग योजना सञ्चालन गरिएको निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ । यस योजनाबाट करिब ५० घरपरिवारको चारसय रोपनी खेतबारीमा सिँचाइ सुविधा पुगेको बलखुबेँसीँ सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज पहाडीले बताउनुभयो । 

१०६ वटा सोलार पाता जडान गरी १०.६ किलोवाट क्षमताको मोटरमार्फत सुनकोशी नदी भन्दा ६५ मिटरमाथि खेतीयोग्य जमिनसम्म पानी तानिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । तत्कालका लागि सिँचाइ समस्या समाधान भए पनि यसलाई दीर्घकालीन बनाउन रिजर्भ ट्याङ्की निर्माण साथै कुलो मर्मत गर्न आवश्यक रहेको स्थानीय उपभोक्ता अश्विन किरण लुइँटेलले बताउनुभयो ।