गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
धर्तीमा बढ्दो तापमान र प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गर्नुभएको हो । सगरमाथा संवादको पूर्वसन्ध्यामा डा. गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तक बिहीबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतरामा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित मानवीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नु पर्छ,” उहाँले भन्नुभयो । भविष्यका सन्तति सुरक्षित र सम्मानित हुनुपर्ने धारणा उहाँको थियो । प्रधानमन्त्री ओलीले सगरमाथा संवादका व्रmममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सङ्क्षेपलाई आफूले सम्बोधनमा समावेश गर्ने जानकारी गराउनुभयो ।
कार्यव्रmममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुङ्गेल र जलवायुविज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे मन्तव्य राख्नुभयो । सरकारले जेठ २ देखि नेपालमा पहिलो पटक सगरमाथा संवाद आयोजना गर्दै छ ।