फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख ३१ गते । कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । बसमा रहेका अधिकांश यात्रु भारतीय पर्यटक हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ घाइते भएको ४ जनाको गम्भीर रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी चार जना यात्रु सकुशल छन् ।