भैरहवा समाचारदाता
भैरहवा, वैशाख ३१ गते । लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ ।
उहाँको राजीनामा भने सामाजिक सञ्जालमा उहाँका श्रीमान् कैलाश गुरुङले सार्वजनिक गर्नुभएको हो । राजीनामा कतै दर्ता भएको छैन । गीता अहिले कहाँ हुनुहुन्छ भन्ने पनि कसैलाई थाहा छैन । गुरुङ सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट समानुपातिक सांसद् बन्नुभएको थियो । उहाँले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, “राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।”
यसबारे जनमत पार्टीका लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) ले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको बताउनुभयो । उहाँले आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनिसकेको बताउनुभयो । राजीनामा दिनुभएकी गुरुङले भने मोबाइल स्विच अफ गर्नुभएको छ । छिमेकीका अनुसार गुरुङ केही साताअघि नै बेलायत गइसक्नुभएको छ । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आउनुभएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ की स्थायी बासिन्दा हुनुहुन्छ ।
जनमत पार्टीको केन्द्रीय सदस्य रहनुभएका उहाँका श्रीमान् कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दुरी बढेको बताइन्छ । गीता–कैलाशका छोराछोरी बेलायतमै बस्छन् भने उहाँहरू पनि जाने आउने गर्नुभएको छ ।