गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । श्रम मन्त्रालयले सूचनामार्फत दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो ।
श्रम मन्त्रालयका अनुसार सामाजिक सञ्जालमा ‘नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच कोरियामा नेपालबाट मौसमी श्रमिक पठाउने विषयमा सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्न’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको छ ।
यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, मौसमी श्रमिकका विषयमा हालसम्म कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको हो, मन्त्रालयको सूचनामा भनिएको छ ।
सामाजिक सञ्जालमा श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुखको नामको किर्ते हस्ताक्षरसहितको विज्ञप्ति प्रकाशन गरी भ्रम फैलाइरहेकोप्रति मन्त्रालयले आपत्ति जनाएको छ ।
सामाजिक सञ्जालमा भ्रमित सूचना प्रचार गर्ने व्यक्ति, समूहमाथि अध्ययन गरेर कारबाही गर्न सम्बन्धित निकायमा पत्रचारसमेत भएको मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । त्यसो त यसअघि मन्त्रालयले २०८१ माघमा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो ।