• २९ वैशाख २०८२, सोमबार

नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

blog

सुनसरीको इनरुवा नगरपालिकामा इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको आयोजनामा इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिन गरेको पत्रकार सम्मेलन । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २८ गते । सुनसरीको इनरुवामा पहिलो पटक “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको छ । इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको आयोजनामा इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो ।

पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष सोनु मण्डलले नगरका १५ विद्यालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान इनरुवामा वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । मण्डलले दिनुभएको जानकारी अनुसार इनरुवा नगरपालिका सुनसरी जिल्लाको पुरानो आफ्नो छुट्टै पहिचान र इतिहास बोकेकोले युवा विधार्थीलाई कुलतबाट जोगाउन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी गरेको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको सिल्डको अनावरण समेत गरेको जनाएको छ ।

इनरुवा नगरपालिकालाई आफनो गौरवपूर्ण इतिहास निर्माण गर्नको लागि यहाँको खेलकुद, खेलाडीहरू उत्पादन गर्न, स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको क्लबका सल्लाहकार सरोज बस्नेतले बताउनुभयो । क्लबका सचिव रनवीर साहका अनुसार प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार १० हजार नगद सिल्ड, प्रमाणपत्र रहेको छ ।

पूर्व राष्ट्रिय खेलाडी तथा क्लब उपाध्यक्ष विवेक मेहताले युवा खेलाडीहरूलाई लगनशील बनाउन पनि प्रतियोगिता उपयोगी हुने बताउनुभयो । सहसचिव दुर्गानन्द यादवले इनरुवा नगरपालिका भित्रका युवाहरूद्वारा सञ्चालित संस्था इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमीले इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ ले सफलताको शिखर चुम्ने बताउनुभयो ।

सल्लाहकार दुर्गा नारायण उराँवले “स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादीत, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ, यसरी नै अनुशासित, मर्यादीत, दक्ष जनशक्तिबाट सभ्य र समृद्ध समाजको निर्माण गर्न सकिन्छ भनेर प्रतियोगिता गर्न लागेको बताउनुभयो । आयोजक इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको टिमले दिएको जानकारी अनुसार प्रतियोगिताको उद्देश्य, विद्यार्थी जीवनमा शिक्षा र खेल दुवै समान रूपमा महत्त्वपूर्ण हुने, क्रिकेट जस्तो टोलीगत खेल विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा ठुलो भूमिका खेल्ने, क्रिकेटले दौडधूप, कसरत, र सक्रियता बढाउँछ, जसले शरीरलाई सबल, फिट र रोगप्रतिरोधी बनाउने जनाएको छ ।

प्रतियोगिताले विद्यार्थीलाई सहकार्य, संयम, र नेतृत्व गर्न सिकाउने,क्रिकेटमा कुशल खेलाडी बन्न धैर्यता, सोच, र मानसिक एकाग्रता चाहिन्छ। विद्यार्थीले यसबाट तनाव व्यवस्थापन सिक्न सक्ने समेत जनाएको छ । 

आयोजकले खेलको नियम र अभ्यास तालिकाले विद्यार्थीलाई अनुशासित र समयमै कार्य गर्नुपर्छ भन्ने गुण सिकाउँने, प्रतियोगिता खेलेपछि विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धा गर्ने क्षमता र आत्मविश्वास बढ्ने दाबी गरेको छ। विद्यार्थी जीवनबाट नै क्रिकेट खेलप्रति सकारात्मक सोच बढाई व्यवसायिक खेलाडीहरू उत्पादन गर्न सकिने, स्थानीय खेलाडीहरू उत्पादन गरी राष्ट्रिय स्तरको खेलाडीसँग खेल्न योग्य बनाउने, विद्यार्थीलाई खेलकुद प्रति आकर्षण बढाइ कुलतबाट टाढा राख्ने र इनरुवा नगरपालिकालाई खेलाडीको सहर र खेलकुद नगरीको रूपमा प्रवर्धन र प्रचारप्रसार गर्ने तथा स्थानीय स्तरमा नै व्यवसायिक खेलाडीहरू उत्पादन गर्ने जनाएको छ ।

सानासाना खेलाडीहरूलाई खेलप्रति रुचि बढाइ खेलकुदमा लाग्नका लागि अभिप्रेरित गर्ने र १५ बढी विधालयका प्रतियोगीहरू  प्रतियोगितामा सहभागी हुने र खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रतियोगितामा अपेक्षित दर्शकको सङ्ख्या ५००० रहने अनुमान गरेको छ ।