• २९ वैशाख २०८२, सोमबार

बन्यो तटबन्ध, हट्यो त्रास

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, वैशाख २८ गते । २०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले दुम्नाटोलको ढिस्को भत्काएर गाउँमै पस्यो । बाढी गाउँमा पस्दा तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका ६४ घर विस्थापित भए । २०७१ सालमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाकी मिठ्ठु बादीको घरसमेत भत्कायो । भत्किएको घर २०८१ सालमा मात्रै तुलसीपुर उपमहानगरपालिका–१३ वडा कार्यालयले त्रिपालमुनिको बासलाई सुरक्षित बासका रूपमा रूपान्तरण गरायो । वडा कार्यालयले घर बनाएर मिठ्ठुलाई हस्तान्तरण गरेको थियो । एक वर्षकै अवधिमा मिठ्ठुलाई अर्को आस पनि जगाइदिएको छ । बस्तीनजिकै रहेको बबई नदीमा यसै वर्ष मात्रै तटबन्ध भएको छ ।  

अब भने दुम्ना र बखरिया बस्तीमा बबई नदीमा आएको बाढी नपस्ने विश्वास जागेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले अथक प्रयासबाट नदीमा तटबन्धको काम भएको बताउनुभयो । उहाँले क्षति पुर्‍याउने धेरै जसो क्षेत्रमा तटबन्ध भए पनि बबई नदीको पुलसम्मको करिब दुई सय मिटर तटबन्धको काम अझै बाँकी रहेको बताउनुभयो । यो काम सम्पन्न भए बखरियावासीलाई बाढीको त्रास सदाका लागि अन्त्य हुने उहाँले बताउनुभयो । उहाँले बाँकी क्षेत्रमा समेत तटबन्धको कामका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको जानकारी दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका देवीराम कुसारी हाल तटबन्ध गरिएको क्षेत्रबाट पुलसम्म तटबन्धको काम भए मात्रै बखरियावासीले वर्षायाममा सुखको सास फेर्न सक्ने बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका–१२, कचिलाका डिल्लीबहादुर चौधरीसमेत बबई नदीमा तटबन्ध भएसँगै गाउँ पूर्ण रूपमा सुरक्षित भएको बताउनुहुन्छ । चौधरीले भन्नुभयो, “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाबाट तटबन्ध भयो, यो वर्ष प्रदेश सरकारबाट थप काम भयो । अब गाउँ बाढीबाट सुरक्षित भएको छ ।”  

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर विश्वकर्माका अनुसार बबई नदीले क्षति पुर्‍याउने तुलसीपुर–१२ को कचिलातर्फ २१० मिटर र वडा नम्बर १३ को बखरियातर्फ ५८५ मिटर क्षेत्रमा तटबन्ध भएको छ । कार्यालयले  दुई करोड ९१ लाख ७७ हजार ८९२ रुपियाँमा ठेकेदार कम्पनीसँग सम्झौता गरी तटबन्धको काम भएको हो । लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नदी तथा खोलामा तटबन्ध गरेपछि कुल दुई हजार ६३२ हेक्टर क्षेत्रफलको नदी उकास गरिएको छ भने १४ हजार ११९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन सुरक्षित  भएको छ । त्यसै गरी तटबन्धबाट १७ हजार ४९८ घरधुरी सुरक्षित भएका छन् ।