नवीनराज कुइँकेल
लमजुङ, वैशाख २७ गते । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको सत्रसय–सुन्दरबजार सडकखण्डमा पर्ने खहरे खोलामा पुल निर्माण गरिएको छ । पुलको ढलान सम्पन्न भएसँगै अब यस क्षेत्रका यात्रु तथा स्थानीय बासिन्दालाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ ।
सडक बनिसकेको अवस्थामा समेत पुलको ढलानमा ढिलाइ हुँदा विगतमा विशेषगरी वर्षायाममा यात्रुहरूलाई अत्यधिक सास्ती बेहोर्नु परेको थियो । वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा पुल नबन्दा सडक बारम्बार अवरुद्ध हुने गरेको थियो ।
खहरे खोलाको यो पुल सुन्दरबजार नगरपालिकाका पश्चिमी वडाहरू, मध्यनेपाल नगरपालिका, बेँसीसहर नगरपालिका–४ र पोखरातर्फ यात्रा गर्ने यात्रुहरूका लागि मुख्य नाका हो । दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने यो सडक खण्डको बिचमै खोलाले सडक कटान गर्दा आवागमन पूरै बन्द हुने गर्थ्यो ।
सुन्दरबजार नगरपालिका वडा नं. ५ का अध्यक्ष श्रीकाजी गुरुङले पुल नहुँदा बिगतमा समस्या हुने गरेको, बर्खामा खोलाले सडक बगाउने, यात्रुहरू अलपत्र पर्ने, एम्बुलेन्स समेत जान नसक्नेजस्ता समस्या रहेको बताउनुभयो । अहिले पुल ढलान भएपछि आगामी दिनहरू सहज हुने उहाँले बताउनुभयो ।
पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सन्जिव पौडेलले पुलको ढलान सकिएको र आवश्यक अन्य संरचना चाँडै तयार पार्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुल ढलानको काम सकिएकाले अब साइडवाल, रेलिङ र कालोपत्रका कामहरू छिट्टै गरिने बताउनुभयो । एक महिनाभित्र सबै काम पूरा गरेर सडक सुचारु गरिने उहाँले बताउनुभयो ।
पुल निर्माणपछि सडक प्रयोग गर्ने यात्रुहरूलाई अब सहज र सुरक्षित यात्रा हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले पनि पुल निर्माणप्रति खुशी व्यक्त गर्दै वर्षायाममा आउने सास्तीबाट राहत पाइने आशा व्यक्त गरेका छन् ।
स्थानीय सरकार, निर्माण कम्पनी र सरोकारवाला निकायको सहकार्यमा सम्पन्न भएको खहरे खोलाको पुल अब स्थानीय विकासको आधार बन्ने विश्वास गरिएको स्थानीय विद्याज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्य केसीले बताउनुभयो ।