• २६ वैशाख २०८२, शुक्रबार

गोरखापत्रको १२५ : कोहलपुरमा शुभकामना आदान प्रदान

blog

कोहलपुरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रका सहभागीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, बैशाख २५ गते । गोरखापत्रको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुरमा विहिबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियोे । 

गोरखापत्र संस्थानको पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका बाँके, बर्दिया र सुर्खेतका समाचारदाता लगायत पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरका कर्मचारीहरुको सहभागिता थियो । 

संस्थानको पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरका निमित्त प्रमुख मिरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी र कर्णाली प्रदेशका समाचारदाता र कोहलपुर कार्यालयका कर्मचारीहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा बोल्दै गोरखापत्रको कर्णाली प्रदेशका संयोजक ललित बसेलले पछिल्लो समयमा गोरखापत्र देशकै अग्रणी पत्रिका बन्न सफल भएकोमा खुशी व्यक्त गर्दै अझै पनि वितरणलगायत छपाइमा केही समस्या रहेको बताउनुभयो । 

कार्यक्रममा गोरखापत्रका खजुरा समाचारदाता गजेन्द्र गुरुंग, कोहलपुर समाचारदाता सावित्री गिरी, बबई समाचारदाता ज्योती पन्थी, गुलरिया समाचारदाता यज्ञ सापकोटा र नेपालगन्ज समाचारदाता सिराज खानले बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रिकाको पृष्ठ थप्नुपर्ने र अनलाइनमा जनशक्ति थप्नुपर्नेलगायतको माग गर्नुभयो । 

पश्चिम क्षेत्र प्रकाशन कार्यालयका निमित्त प्रमुख शर्माले कोहलपुरबाट पत्रिका प्रकाशन शुरु भएपछि पश्चिम नेपालका विभिन्न जिल्लामा बिहानै पत्रिका पुराउन सकिएको बताउनुभयो । 

उहाँले पत्रिकाको प्रकाशनलगायत वितरण तथा अन्य क्षेत्रमा बेला बेलामा केही समस्या आए पनि आफूहरुले केन्द्रीय कार्यालयको सहयोगमा समाधान गर्दै आएको बताउनुभयो । 

सो अवसरमा प्रेस इन्चार्ज विनोद थापा, लेखा प्रमुख दिपक पौडेल र बजार व्यवस्थापक प्रदीप ज्ञवालीलगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।