नेपाली खेलकुदको वर्तमान अवस्था आशालाग्दो छ । विशेष गरी क्रिकेट, महिला फुटबल र मार्सल आर्ट्समा मिलेको केही सफलताले नेपालको नाम पनि विश्व खेलकुदमा लिन थालिएको छ । अझ क्रिकेटले सिङ्गो देशलाई एकताबद्ध बनाएको छ ।
नेपाल समृद्धिको यात्रामा हिँडिरहेको छ । यो समृद्धिलाई माथिल्लो तहसम्म पुर्याउन देशको आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको स्तरलाई अझ उन्नत बनाउनु पर्छ । यी कुराको विकास भएपछि नै देशले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई सशक्त बनाउँछ । यतिबेला देशलाई अन्तर्राष्ट्रिय मञ्चमा एकपछि अर्को पहिचान दिलाउन नेपाली खेलकुद क्षेत्रले उल्लेखीय योगदान दिएको छ । विश्व मानचित्रमा नेपाल पनि बिस्तारै खेलकुदको माध्यमबाट चिनिन थालेको छ ।
नेपालमा खेलकुदको आरभ्भ दशकौँअघि भइसकेको थियो । विविध कालखण्डमा भएका कतिपय कमजोरीका कारण नेपाली खेलकुदले आफ्नो अस्तित्व मात्र जोगाउँदै आएको थियो । खेलकुद राज्यको प्राथमिकतामा नपर्नु, खेलकुदमा गतिलो नेतृत्व नहुनु, घरेलु खेलकुद चलायमान नहुनु, भौतिक पूर्वाधारको कमी र अन्तर्राष्ट्रिय खेलकुदमा गर्व गर्नलायक क्षणको कमीले गर्दा विश्व खेलकुदमा नेपाल कहीँकतै देखिँदैनथ्यो तर विसं २०४६ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली खेलकुद नयाँ चरणमा प्रवेश गर्यो ।
नेपाली खेलकुदको इतिहास गोरखाको लिगलिगकोटबाट सुरु भएको पाइन्छ । घलेबस्तीमा लिगलिगे दौड प्रतियोगिता आयोजना गरेर राजा चयन गर्ने चलन थियो । त्यसपछि लिच्छवि, मल्लकालमा कुस्तीबाट फुलेको खेलकुद जहाँनिया शासनमा दरबार, राणा र दरबारनिकटका व्यक्तिबिच फुटबल, हकी, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेल नेपालमा भित्रिए । त्यतिबेला खेलकुद जनताको पहुँचमा थिएन । राणा शासनको अवसानपछि मात्र खेलकुद आमनेपालीमाझ फैलिएको हो ।
विसं २०३१ मा सुरु भएको वीरेन्द्र सिल्डबाट घरेलु खेलकुद वास्तविक रूपमा पहिलो पटक चलायमान भएको मान्न सकिन्छ । देशैभरि हुने यो प्रतियोगिता निकै लोकप्रिय थियो । वीरेन्द्र सिल्डलाई गाउँ गाउँमा खेल महोत्सवकै रूपमा लिइन्थ्यो । २०३८ सालमा प्रत्येक दुई/दुई वर्षमा आयोजना गर्ने गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात गरियो । यद्यपि तोकिएको समयमा प्रतियोगिताहरू हुन नसक्दा अहिलेसम्म नवौँ संस्करण मात्र भएको छ । यसै गरी विगतमा राष्ट्रिय खेलकुदबाहेक अन्तरनगर खेलकुद प्रतियोगिता पनि आयोजना हुन्थे; जुन तीन संस्करणपछि ठप्प भयो ।
नेपाली खेलकुदको अन्तर्राष्ट्रिय यात्रा सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको एसियाडबाट सुरु भएको हो । प्रथम एसियाली खेलकद्रदमा भाग लिने ११ भाग्यशाली देशमध्ये नेपाल पनि एक थियो । यसै गरी नेपालले सन् १९६४ मा भएको टोकियो ओलम्पिकबाट विश्वको सबभन्दा ठुलो खेलकुद मेलामा पनि सहभागिता जनाउन थालेको हो । नेपालले दक्षिण एसियाली खेलकुदमा लगातार सहभागिता जनाउँदै आएको छ । सन् १९८४ मा काठमाडौँमा पहिलो पटक यस क्षेत्रको खेलकुद प्रतियोगिता आयोजना भएको हो ।
खेल संस्थाका रूपमा नेपालमा पहिलो पटक गठन भएको नेपाल क्रिकेट सङ्घ (क्यान) हो । २००४ सालमा क्यानको गठनलाई नेपाली खेलकुदको कोसेढुङ्गा मान्न सकिन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) भन्दा पनि अघि क्यान स्थापना भएको हो । २०१५ सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलुकद परिषद् गठन भएको दुई वर्षपछि त्यसलाई राष्ट्रिय खेलकुद परिषद्मा रूपान्तरण गरियो । यसै गरी सन् १९६२ मा राखेपपछि नेपाली खेलकुदको ठुलो खेल संस्था नेपाल ओलम्पिक कमिटी (एनओसी) गठन भयो ।
भौतिक पूर्वाधारका कुरा गर्ने हो भने २०२८ सालमा पूर्व र उत्तरतिर पाँच/पाँच लाइनको प्यारपिटसहित दशरथ रङ्गशाला तयार भएपछि नेपालमा खेलकुदमा चहलपहल बढेको देखिन्छ । यद्यपि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रङ्गशाला २०३७ सालमा मात्र पूरा भएको थियो ।
यसै गरी अन्तर्राष्ट्रिय खेलकुदतर्फ विगतमा फाट्टफुट्ट मात्र उपलब्धि भएका थिए । विगतमा नेपालले मार्सल आर्ट्स, बक्सिङ, भारोत्तोलन र एथलेटिक्समा अन्तर्राष्ट्रिय सफलता पाएको छ । सन् १९७३ मा जितबहादुर केसीले एसियन एमेच्योर ट्र्याक एन्ड फिल्डमा जितेको कांस्य नेपालको पहिलो पदक हो । सन् १९८८ मा सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोमा कांस्य पदक जित्नुभयो । यद्यपि त्यति बेला तेक्वान्दो प्रदर्शनी खेल थियो । बैङ्कक एसियाडमा सबिता राजभण्डारीले तेक्वान्दोमा जितेको रजत पदक पनि दशकौँ कीर्तिमानका रूपमा रह्यो । बैकुण्ठ मानन्धरले साफ खेलकुद म्याराथनमा लगातार तीन पटक स्वर्ण पदक जितेर ह्याट्रिक गर्नुभयो । यसै गरी गणेश थापा, राजुकाजी शाक्य र मणि शाह जस्ता फुटबलका हस्ती, बक्सिङका दलबहादुर राना र तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको छविलाई उँचो बनाउनुभयो ।
वर्तमान अवस्था
नेपाली खेलकुदको वर्तमान अवस्था आशालाग्दो छ । विशेष गरी क्रिकेट, महिला फुटबल र मार्सल आर्ट्समा मिलेको केही सफलताले नेपालको नाम पनि विश्व खेलकुदमा लिन थालिएको छ । अझ क्रिकेटले सिङ्गो देशलाई एकताबद्ध बनाएको छ । हुन पनि क्रिकेटले आशा देखाएको छ । अहिले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम क्रिकेटमा सम्मानका साथ लिइन्छ । नेपाली क्रिकेटले थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ । नेपालले गत वर्ष मात्र टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । महिला फुटबल टिमलाई निकट भविष्यमा विश्वकप खेल्ने टिमका रूपमा हेरिएको छ ।
मार्सल आर्ट्स (तेक्वान्दो, कराँते) मा पनि खस्किएको छवि अहिले माथि उठ्दै छ । पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा जितेको कांस्य पदक र एरिका गुरुङले होङजाउ एसियाडमा जितेको रजत पदक यसका उदाहरण हुन् । खो खोको पुरुष र महिला टिमले नै विश्वकपमा रजत पदक जितेर टिम गेममा अहिलेसम्मकै ठुलो पदक प्राप्त गर्यो । महिला भलिबलले पनि उल्लेखनीय प्रगति गरेको छ । गत वर्ष १९ औँ एसियाली खेलकुदमा कांस्य पदक जितेर इतिहास बनाएको नेपाली महिला कबड्डी टिमले इरानमा भएको छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको थियो ।
विगतमा व्यावसायिकताको समुद्रबाट निकै टाढा नेपाली खेलकुदको स्थिति पछिल्ला केही वर्षमा बदलिएको छ । नेपालमा यस वर्ष मात्र सुरु भएको क्रिकेटको फ्रेन्चाई लिग, नेपाल प्रिमियर लिग (एनपिएल) को तुलना भारतको आइपिएलसँग भयो । एनपिएल पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको छ । एनपिएलअघि नेपाल फुटबलको फ्रेन्चाई लिग भइसकेको थियो । यसै गरी महिला भलिबल, कबड्डीको पनि फ्रेन्चाई लिग सुरु भइसकेको छ । बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस जस्ता अन्य खेलमा पनि सम्भावना देखिएको छ ।
नेपाली खेलाडी विदेशमा पनि बिक्न थालेका छन् । विगतमा केही नेपाली फुटबल खेलाडीले भारत, बङ्गलादेश, थाइल्यान्डमा खेलेको छिटफुट उदाहरण नभएको होइन तर नेपाली खेलाडीले विदेशी क्लबमा आफूलाई साबित गर्न नसक्दा पनि अन्य खेलाडीका लागि विदेशी क्लबको ढोका कमै मात्र खुलेको थियो ।
यद्यपि अहिले नेपाली फुटबलर र क्रिकेटर राम्रो मूल्य लिएर विदेशमा खेल्छन् । सन्दीप लामिछानेले विश्वका सबैजसो क्रिकेट लिगमा खेलिसक्नुभएको छ । यतिबेला नेपाली क्रिकेटरले विदेशी फ्रेन्चाई लिगमा स्थान पाउन थालेका छन् । यसै गरी फुटबलका किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडी लामो समयदेखि उच्चस्तरको विदेशी लिगमा खेलिरहनुभएको छ । नेपाली महिला फुटबलर सावित्री भण्डारी फ्रान्स, एन्जिला तुम्बापो सुब्बा ग्रिस र रेखा पौडेल आबुधाबीमा आबद्ध हुनुहुन्छ ।
नेपाली खेलकुदले अन्तर्राष्ट्रियस्तरमा केही नतिजा देखाएसँगै सरकारले खेलकुदतर्फ पनि ध्यान दिन थालेको छ । विगतको एकात्मक शासनव्यवस्थामा खेलकुदको संरचना पनि एकात्मक नै थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि केही सुधारका सङ्केत देखिएका थिए तर राजनीतिक अस्थिरतको छाया राखेपमा पनि पर्यो । यसले गर्दा खेलकुदको नियामक निकायमा पनि अस्थिरता आयो ।
सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ सालमा जारी भएपछि खेलकुदमा पनि पुनर्संरचना भएको छ । सङ्घको युवा तथा खेलकुद मन्त्रालयमातहत राष्ट्रिय खेलकुद परिषद् छ । सात प्रदेशमा प्रदेश सरकारको सामाजिक मन्त्रालय/खेलकुद मन्त्रालयमातहत प्रदेश खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् अन्तर्गत जिल्ला खेलकुद विकास समिति रहने व्यवस्था छ । स्थानीय तहमा स्थानीय खेलकुदको संरचना रहने व्यवस्था गरिएको छ । यी तहबाट पनि अहिले निरन्तर प्रतियोगिता सञ्चालन भइरहेका छन् । खेलाडीले सुविधा पाइरहेका छन् ।
खेलकुद विकासको एउटा महत्वपूर्ण आधार हो, भौतिक पूर्वाधार । भौतिक पूर्वाधारबिना समृद्ध खेलकुदको कल्पना गर्न सकिन्न । नेपाली खेलकुदमा भौतिक पूर्वाधारको कमीकमजोरीबारे प्रायः चर्चा हुने गर्छ । २०७२ सालको महाभूकम्पले कमजोर पूर्वाधारलाई अझ पछाडि धकेलिदियो । यद्यपि अहिले सरकारको ध्यान खेलकुदको पूर्वाधारमा विगतमा भन्दा अलि बढी गएको देखिन्छ । विगत केही वर्षदेखि देशभर अहिले पूर्वाधार निर्माणको लहर चलेको छ । राष्ट्रिय खेलकुद हुँदा खेलकुदका भौतिक पूर्वाधार निर्माण भएका छन् । १३ औँ दक्षिण एसियाली खेलकुद हुँदा दशरथ रङ्गशालको पुनर्निर्माण भयो । सातदोबाटो स्पोर्ट्स कम्प्लेक्समा बाहै्र महिना पौडी गर्न सक्ने ‘हिटिङ सिस्टम’ को पौडीपोखरी निर्माण भयो । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । त्यसै गरी काठमाडौँमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदान निर्माण गरिएको छ । यसबाहेक पोखरा रङ्गशाला, नेपालगन्ज रङ्गशाला, मेची रङ्गशाला, झापाको लखनपुरमा मदन भण्डारी रङ्गशाला, गुल्मीको लखन थापा रङ्गशाला विभिन्न समयमा स्तरोन्नति भए । १० औँ राष्ट्रिय खेलकुद हुने भएपछि कर्णालीमा खेलकुदका राम्रा पूर्वाधार बनेका छन् । अहिले सरकारी तवरबाट मात्र होइन, निजी क्षेत्रबाट पनि खेलकुदका पूर्वाधार बनेका छन् ।