• १२ असोज २०८१, शनिबार

थप तेइस उद्योगले पाए अनुमति

blog

श्यामशङ्कर पाण्डे

लुम्बिनी, जेठ २६ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि थप २३ उद्योगले अनुमति पाएका छन् । हाल सेजमा सात उद्योग सञ्चालन भइरहेका छन् । ती उद्योगले उत्पादन सुरु गरेर भारत निकासी गर्दै आएका छन् । सेजमा सञ्चालन भइरहेका सात र नयाँ अनुमति पाएको २३ गरी कुल ३० वटा उद्योग सञ्चालन हुने भएका छन् । गत फागुन १५ गते प्राधिकरणले भैरहवाको सेजमा खाली रहेको जमिन (प्लट)मा उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न सूचना जारी गरेपछि आएका प्रस्तावमध्ये २३ वटालाई अनुमति दिइएको हो । 

सेजका ४६ वटा प्लटका लागि २३ वटा उद्योगलाई अनुमति दिइएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो । “हामीले २३ उद्योगलाई अनुमति दिएका छौँ, अहिले अनुमति पाएका उद्योगीले उद्योग दर्ता गर्दै हुनुहुन्छ । त्यसपछि प्राधिकरणसँग सम्झौता हुनेछ,” उहाँले भन्नुभयो । सम्झौता गरेका सबै उद्योगले एकदेखि डेढ वर्षभित्र उद्योग सञ्चालन गर्ने भट्टले जानकारी दिनुभयो।

 नयाँ थपिने उद्योगमा भान्सामा प्रयोग हुने प्रेसर कुकर, राइस कुकर, भाडावर्तन, आल्मुनियमका डिस्पोजल प्याकेट, ट्वाइलेट पेपर, टिस्यु पेपर, जडीबुटी, ढुङ्गा कुँदेर मूर्ति बनाउने, कवाड सामान प्रशोधन गरेर धातु बनाउने, इन्डक्सन चुलो, सिमेन्टको बोर्ड, छालाको सामान, तयारी पोसाक, फर्निचरसँग सम्बन्धित छन् ।उहाँका अनुसार भैरहवा सेजमा निर्माण हुने ती उद्योगको कुल लगानी साढे सात अर्ब रुपियाँ र दुई हजार ५३४ जनाले रोजगारी पाउने प्रस्तावमा उल्लेख छ । यी उद्योगबाट वार्षिक उत्पादन १८ अर्ब पाँच करोड रुपियाँ बराबरको हुने र वार्षिक निर्यात १० अर्ब ८४ करोड रुपियाँ मूल्य बराबरको हुनेछ । 

यसअघि भैरहवा सेजमा जय बुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरी सातवटा उद्योग सञ्चालनमा छन् । यी उद्योगले २२ वटा प्लट उपयोगमा ल्याएका छन् । खाली प्लटमा वर्षौंदेखि उद्योग स्थापना नहुँदा सेज झाडी र जङ्गलमा परिणत भएको थियो ।

यसअघि सेजमा उद्योगका लागि छुट्याइएका कुल ६८ वटा जमिनका प्लटमध्ये ४६ वटा खाली थिए, जसमध्ये २२ वटा प्लटमा नौ जना लगानीकर्ताले उद्योग स्थापना गर्ने भनेर सेज प्राधिकरणसँग सम्झौता गरे पनि उद्योग स्थापना भएनन् । प्राधिकरणले उद्योग स्थापना नगरेर राखेका सबै प्लटका सम्झौता खारेज गरी अन्य व्यवसायीलाई उद्योग सञ्चालनार्थ प्रस्ताव पेसको माग गरेको थियो । 

अब भने सेजलाई पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण तयार पारिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले भन्नुभयो, “एक÷डेढ वर्षभित्रै भैरहवा विशेष आर्थिक क्षेत्र उद्योगले भरिने छ र पूर्णता पाउनेछ ।”