• २३ वैशाख २०८२, मङ्गलबार

रूपन्देहीको तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

blog

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा समारोह । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २३ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । मानवसेवा आश्रमको मिसन २०८२ अभियान अन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताउनुभयो । उहाँले स्वागतयोग्य काम भएको भन्दै अब कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो ।

वि.सं २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । घोषणाका क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा नगर प्रमुख रामकृष्ण खाणले सबैको सहयोगले यो काम सम्भव भएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सुरेन्द्र श्री, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरू लगायतको सहभागिता रहेको थियो ।

अब नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त  र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ।मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ ।