• १६ असार २०८१, आइतबार

विद्युत् वितरण कमान्ड नियन्त्रण केन्द्र बन्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६  गते । विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण भइरहेको छ । केन्द्रमा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।यो केन्द्र काठमाडौँको स्युचाटारमा रहेको भारप्रेषण केन्द्र परिसरमा निर्माण भइरहेको छ । 

उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन रहने सो केन्द्रमा ११ केभीभन्दा कमका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने जनाइएको छ । साथै त्यहाँ अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर रहनेछ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटा एकीकृत रूपमा रहने जनाइएको छ । 

सिभिल संरचनाको निर्माण सम्पन्न भएकाले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि दुई-तीन महिना लाग्नेछ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नोभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।  

प्रााधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी बनाउन ‘डिजिटल एनईए’ अवधारणाअनुरूप काम गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।