अनिल पराजुली
हेटौँडा, वैशाख २१ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो ।
घटनास्थलको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ नं. वडाध्यक्ष उद्धव सत्यालले स्थलगत अनुगमन पनि गर्नुभएको छ । स्थलगत अनुगमन पश्चात् विपद्को बैठक बसेर भूगर्भविद् ल्याएर अध्ययन अनुसन्धान गर्ने तयारी गरिएको छ । गाडीको खोजलाई निरन्तरता दिँदै गाडी भासिएको विषयमा खोज अध्ययन गर्ने तयारी गरिएको हो ।
नजिकै बोरिङ भएकाले घटना भएको हुन सक्ने पनि उपप्रमुख बानियाले अनुमान गर्नुभयो । अनुसन्धान गर्न सरोकारवाला निकायमा पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको थियो ।
रोकिराखेको ठाउँमा एक्कासी सडक भासिँदा ना. ४ च. ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि हराएको थियो । गाडी भासिएको सडक दायाँबायाँ माछा पालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । पानीमा भासिएको गाडी अझैँ देखिएको छैन । निरन्तर पानी निकाल्दै गाडी खोजी कार्य भइरहे पनि गाडी अझै फेला परेको छैन ।