• २१ वैशाख २०८२, आइतबार

त्रिदेव र सदीक्षालाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

blog

त्रिदेव पौडेललाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गर्नुहुँदै उपसभामुख इन्दिरा राना मगर ।

काठमाडौँ, वैशाख २१ गते।  रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले त्रिदेव पौडेल र सदीक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ।

जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लीन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले काठमाडौँमा आयोजित कार्यक्रममा पुरस्कृत गरेको हो। 

प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीको अध्यक्षता तथा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा भएको पुरस्कार सम्मान समर्पण कार्यक्रममा गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारका लागि महिला, एकल महिला समूह र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बिनु सुवेदीलाई सम्मान गरेको छ। प्रत्येक पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपियाँसहित सम्मान पत्र रहेको थियो।

कार्यक्रममा एकल महिलाकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले महिला एकल हुँदा वा श्रीमान् गुमाउँदा भोग्नु परेको पीडा तथा भोगाइले पारेको प्रभावका विषयमा सङ्घर्ष गर्दै संस्थाले दुई लाख भन्दा बढी एकल महिलालाई सङ्गठित गरेर काम गरिरहेको  बताउनुभयो। 

पुरस्कार छनोट समितिका तर्फबाट शिव गाउँले र प्रतिष्ठानको तर्फबाट महासचिव तुलसीराम ओलीले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।