• २१ वैशाख २०८२, आइतबार

मापदण्डविपरीत निजी मेडिकल सञ्चालन

blog

हेटौँडा बजारमा रहेको मेडिकल अनुगमन गर्दै अधिकारीहरू । तस्बिर : अनिल पराजुली

हटौँडा समाचारदाता 

हेटौँडा, वैशाख २१ गते  । हेटौँडामा शुक्रबार जिल्लास्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्लास्तरीय अनुगमन टोलीले निजी मेडिकल गैरजिम्मेवार र मापदण्डविपरीत सञ्चालन भएको पाएको हो । हेटौँडा उपमहानगरपालिका–१०, राप्ती रोडमा सञ्चालनमा रहेका मेडिकलको अनुगमन गर्दा मापदण्डविपरीतका मेडिकल सञ्चालनमा रहेको पाइएको छ । हेटौँडा–१०, राप्ती रोडमा रहेको हेटौँडा फिजियोथेरापी सेन्टर, न्यु त्रिवेणी मेडिकल सेन्टर, गुराँस पोलिक्लिनिक र हँस डेन्टल क्लिनिकको अनुगमन गरिएको थियो । 

अनुगमनका व्रmममा सरसफाइको अभाव, मेडिकल दर्ता, नवीकरण नगरिएको, नागरिक बडापत्र नराखिएको र औषधीको बिल नदिने गरेको पाइएको हो । बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधी राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका मेडिकललाई सुधारका लागि सल्लाह सुझाव दिइएको छ । 

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारले दर्ता प्रक्रियामा र नवीकरण गर्न बाँकी रहेको भेटिएको बताउनुभयो । उहाँले सरसफाइ र व्यवस्थापनमा पनि समस्या देखिएको जानकारी दिनुभयो । “अनुगमनको सुरुवात भएको छ, अब नियमित अनुगमन गछौँ, सुधार गर्न सुझाव दिन्छौँ,” कार्यालय प्रमुख मिजारले भन्नुभयो । 

यस्तै मेडिकल सञ्चालकले हेटौँडाको सडक विस्तार अन्योल भएकाले व्यवस्थित रूपमा संरचना निर्माण गर्न नसकेको बताउनुभएको छ । उहाँहरूले सडक विस्तारको टुङ्गो नलागेकाले स्थायी संरचना र व्यवस्थित गर्न नसकेको स्विकार्न‘भयो । हेटौँडा विस्तारको विषय अन्योल हुँदा यहाँका व्यवसायी पनि अन्योलमा परेका छन् । 

बागमती प्रदेश सरकारले करिब एक वर्ष नयाँ दर्ता रोकेपछि हाल एक महिनाअघिबाट अनलाइनमार्फत दर्ता, नवीकरण प्रणाली ल्याएको छ । जनस्वास्थ्य कार्यालयले २५ बेड हस्पिटल, पोलिक्लिनिक र डेन्टल क्लिनिक दर्ता र नवीकरण गर्ने गरेको सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । हस्पिटल, पोलिक्लिनिक र डेन्टल क्लिनिक गरेर ३७ वटा दर्ता भएको छ भने नौ वटा प्रव्रिmयामा आएको उहाँले बताउनुभयो ।