हुम्ला समाचारदाता
हुम्ला वैशाख २१ गते । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित भएको छ । आठ वटै वडा पूर्ण खोप सुनिश्चित भइसकेको र त्यसको गाउँपालिकास्तरबाट गरिएको अनुगमनका क्रममा समेत निर्धारित उमेर समूहका बालबालिका कोही पनि खोप नलगाएको नभेटिएपछि अब गाउँपालिकालाई घोषणा गरिएको हो ।
गाउँपालिकाका आठ वटै वडा पूर्ण खोप दिगाोपना सुनिश्चित घोषित भएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताउनुभयो । एक कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । घोषणा कार्यक्रममा आठ वटै कदरपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका आठ वटै वडामा ५५५ जना रहेका छन् ।
जसमा दोजाम आधारभूत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समूहका बालबालिका रहेका छन् । त्यसै गरी ठेहे स्वास्थ्य चौकीमा ७४, बरगाउँ स्वास्थ्य चौकीमा आठ, बुराउसे आधारभूत स्वास्थ्य केन्द्रमा १०, जिल्ला अस्पतालमा ७३, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्रमा २४, डाँडाफया स्वास्थ्य चौकीमा १५४ र स्याडा स्वास्थ्य चौकीमा २०४ बालबालिका रहेका छन् ।