• २१ वैशाख २०८२, आइतबार

संस्कृति जोगाउन घोडा दौड

blog

वीरगञ्ज (पर्सा),  वैशाख २१ गते ।  वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो । 

घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतिहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । ब्रहम बाबा सञ्चालक सेवा समिति तथा बिपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको उक्त दौडमा १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबीच सदियौँदेखि चल्दै आएको सद्भाव कायम गर्न पनि प्रतियोगिताले ठूलो मद्दत पुर्याएको बताउनुभयो ।

घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो ।  उहाँले भन्नुभयो, “दर्शकको घुँइचो र उत्साहले आगामी वर्षमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।” घोडा दौड प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा प्रथम भएको छ । प्रथम हुनेलाई कुलर मेसिनले सम्मानित गरियो । त्यस्तै द्वितीय पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्यो । त्यस्तै तृतीय पुरस्कार भने पर्साको सिर्सियाका हरिशङ्कर सिंहको घोडाले प्राप्त गर्यो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबीच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुर्याएको बताउनुभयो । मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले घोडा दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्नुभयो । रासस