• २२ वैशाख २०८२, सोमबार

सखुवामा शीतभण्डार निर्माण हुँदै

blog

ढल्केबर समाचारदाता

ढल्केबर, वैशाख २१ गते ।  धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, सखुवा बजारनजिक पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण तीव्र गतिमा अघि बढेको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा सो शीतभण्डार निर्माण भइरहेको हो । 

स्टोर ग्रिन नेपाल एसकेजीले सात करोड २८ लाख १२ हजार ६५८ रुपियाँमा निर्माणको ठेक्का पाएको छ । २०८१ साल असार २३ गते सम्झौता गरेर निर्माण थालिएको सो शीतभण्डार आगामी मङ्सिर २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।  

शीतभण्डार निर्माणका लागि छिरेश्वरनाथ नगरपालिकाले १० कट्ठा जमिन उपलब्ध गराएको छ । उक्त शीतभण्डारण केन्द्रबाट स्थानीय किसान तथा व्यापारी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

दिगम्बरपुर, औरहा र इच्छापुर क्षेत्रका अधिकांश स्थानीय तरकारी तथा फलफूल उत्पादन गर्छन् । नगरप्रमुख सुखदेव यादवले बजारमा उचित मूल्य नपाउने, फलफूल, तरकारी बिक्री नभएर नोक्सानी बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न शीतभण्डार बनाउन थालिएको बताउनुभयो । यसले क्षेत्रीय कृषि उत्पादनमा स्थायित्व ल्याउने र किसानको जीवनस्तर उकास्न टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

औरहाका कृषक सत्यनारायण साहले शीतभण्डार बन्न थालेपछि यहाँका किसानमा उत्साह बढेको बताउनुभयो ।