• २१ वैशाख २०८२, आइतबार

नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द गरिने

blog

काठमाडौँ, वैशाख २१ गते । त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोही अनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।     

 नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो ।     

काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेक पोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।     

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने बेहोरासमेत जानकारी गराइन्छ ।”