काठमाडौं, वैशाख २० गते । नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पतालको साङ्गठनिक संरचनामा दन्त चिकित्सकको दरबन्दी अनिवार्य गराउन माग गरेकाे छ । एसोसिएसनले विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयलाई आधारभूत अस्पतालको साङ्गठनिक संरचनामा परिवर्तन गरि दन्त चिकित्सक अनिवार्य राख्न माग गरेको हो ।
“आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१” वैशाख ८ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो । उक्त मापदण्डमा सदन्त चिकित्सकको दरबन्दी नराखेकोले एसोसिएनले यस्तो माग राखेको एसोसिएनका अध्यक्ष डा.प्रणय रत्न शाक्यले जानकारी दिनुभयो । यदि मन्त्रालयले वैशाख २६ गते सम्म धारभूत अस्पतालको सङ्गठनिक संरचनामा दन्त चिकित्सकको दरवन्दी नराखे डेन्टल एसोसिएसन देशव्यापी आन्दोलन गर्न बाध्य हुने उहाँको भनाइ छ।
नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शय्या अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिनु अन्यायपूर्ण कदम भएको एसोसिएनको ठहर छ । दन्त चिकित्सकको मात्र नभई नेपाली नागरिकलाई समेत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत दन्त स्वास्थ्य सेवा प्राप्त गर्न भेदभाव गरेको एसोसिएनको आरोप छ ।
“दन्त चिकित्सक नेपालमा छ हजार उत्पादन भएको, तर स्थाई दरबन्दी सय जना पनि नरहेको अवस्थामा मा १५ शय्या अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दी नराख्दा नेपाली नागरिकलाई सरकारले नै भेदभाव गरेको आभास भएको छ । तसर्थ, यो निर्णयलाई नेपाल सरकारले २०८२ वैशाख २६ गतेसम्म नसच्याए डेन्टल एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुनेछ,” विज्ञप्तिमा उल्लेख छ ।