अनिल पराजुली
हेटौँडा, वैशाख २० गते । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ । राक्सिराङका तीन वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय मोटर बाटो खुलेपछि खुसी भएका हुन् ।
राक्सिराङ गाउँपालिकाको वडा नं. ६, ७ र ८ का बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका तीन वटा वडाका बासिन्दाका लागि सहज यात्रा हुने भएको हो । राक्सिराङका स्थानीयहरू आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यता पनि हटेको छ ।
२०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा नेता बानियाँले राक्सिराङका बासिन्दाले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धताअनुरुप बानियाँले निजी एक्स्काभेटर प्रयोग गरी करिब ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराउनुभएको हो । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन थालेको छ।
शनिबार प्रदेशसभा सदस्य बानियाँसहित गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतको उपस्थितिमा सडकको उद्घाटन गरिएको थियो । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिबद्धता जनाउनुभयो । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताउनुभयो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपियाँ लगानी गरेको बताउनुभयो । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । राक्सिराङ–६ को सिलिङ्गे, सिलाधुनी, ७ को दामराङ, घिराङ, चरिमारा र ८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्केलगायतका बासिन्दाले भण्डाराबाट करिब २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।
लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुईटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिने छ ।