• २१ वैशाख २०८२, आइतबार

विकास विरोधीले सरकार बारे भ्रम फैलाए : महासचिव पोखरेल

blog

महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २० गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको दाबी गर्नुभएको छ।

एमाले निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको शनिबारदेखि नेपालगन्जमा सुरु भएको सातौँ केन्द्रीय महाधिवेशनको यहाँ उद्घाटन गर्दै महासचिव पोखरेलले विकास विरोधीले एमालेको सरकारलाई मन नपराउने भएकोले उनीहरूले सरकारका बारेमा विभिन्न भ्रम फैलाउने गरेको बताउनुभयो।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको एमालेको सरकारले देशमा भौतिक पूर्वाधार र अन्य विकास निर्माणमा सबैभन्दा धेरै काम गरेको जनाउँदै सरकार विरोधीले केही नभएको भन्दै झुठो प्रचार गरिरहेको बताउनुभयो।

नेकपा (एमाले)ले अल्पसङ्ख्यक मुस्लिम, मधेशी र अन्य पछाडि परेका वर्ग र समुदायको हक अधिकारका लागि सबैभन्दा बढी काम गरेको जनाउँदै महासचिव पोखरेलले मुस्लिम इत्तेहाद सङ्गठनले मुस्लिम समुदायको अगुवाई गरिरहेको बताउनुभयो।

उहाँले एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्मै जारी रहने जनाउँदै गठबन्धन भत्काउन खोज्ने आफै भत्किएर सकिने बताउनुभयो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिहेको जनाउँदै सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुनेगरी काम गरिरहेको बताउनुभयो।

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पदमा अर्याल, प्रतिनिधिसभाका सदस्य, प्रदेशसभाका सदस्यलगायत नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय नेताहरूले धारणा राख्नु भएको थियो। महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ।