• २१ वैशाख २०८२, आइतबार

आरभ र स्वस्तिकालाई टेनिस उपाधि

blog

उपाधि विजेता आरभसम्राट हाडा र स्वस्तिका विष्ट ।

काठमाडौँ, वैशाख २० गते । आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औँ सिटिजन्स बैँक टेनिस प्रतियोगिताको सिङ्गल्स उपाधि शनिबार जित्नुभएको छ । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बन्नुभएको हो । दुवै जना नयाँ च्याम्पियन  हुनुहुन्छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिङ्गल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्नुभयो । आरभको समग्रमा तेस्रो सिनियर सिङ्गल्स उपाधि हो । यसअघि उहाँले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जित्नुभएको थियो ।

निहालजङ्गबहादुर थापा र राजवीर प्रधान तेस्रो हुनुभयो । आठौँ र १०औँ संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिनुभयो । प्रदीपलाई राजवीरले क्वार्टरफाइनलमा हराउनुभएको थियो । महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौँ र १०औँ संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराउनुभयो । 

चार वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो हुनुभयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिङ्गल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बन्नुभयो । 

यस्तै ५५ वर्षमाथि पुरुष सिङ्गल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिङ्गल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो हुनुभयो । 

वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा एक सय ६३ खेलाडी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख ८२ हजार पाँच सय रुपियाँ रहेको थियो ।