• २१ वैशाख २०८२, आइतबार

‘देशको जिम्मेवारी तरुणको काँधमा छ’

blog

नवलपुर (नवलपरासी),  वैशाख २० गते ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताउनुभएको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उहाँले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरूलाई आह्वान गर्नुभयो । 

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको  आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

यसैबिच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिनुभएको छ । 

चितवनामा  पत्रकारहरूसँग कुरा गर्दै उहाँले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य छ भन्नुभयो ।   नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुुननहुनेमा उहाँको जोड थियो । 

फरक प्रसङ्गमा उहाँले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताउनुभयो । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उहाँले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस