• २१ वैशाख २०८२, आइतबार

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

blog

शिक्षा विकास तथा समन्वय एकाइ बैतडी । तस्बिर : केशब राज भट्ट

केशबराज भट्ट
बैतडी, वैशाख २० गते ।
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।

कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि १८ वटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी १९ वटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

यस वर्ष जिल्लाभर चार हजार छ सय १३ जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने एकाइ प्रमुख अवस्थीले बताउनुभयो । गत वर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी हुनुभएको थियो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।

परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका १९ वटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको एकाइ प्रमुख प्रमुख अवस्थीले बताउनुभयो । बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका छ ।

देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतबारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।