हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख २० गते । मोरङको लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षहरूमा नगरसभा सुरु हुनुभन्दा केही दिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यस वर्षदेखि विषयगत समितिहरूसँग नीति निर्माणका विषयमा छलफल थालेको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम विषयगत समितिमा छलफल गरी नीति निर्माण प्रक्रिया अघि बढाएको छ । बजेट निर्माण गर्ने क्रममा ऐनमा व्यवस्था भए अनुसार नीति, कार्यक्रम र क्रियाकलापहरूबिच तादात्म्यता कायम गर्नका लागि विषयगत समितिमार्फत नीति निर्माण गर्न थालिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।
विषयगत समितिमार्फत नीति निर्माण गर्नुपर्ने पुरानै व्यवस्था भए पनि पहिलो पटक नीति तर्जुमा कार्याशाला सञ्चालन गरेर विषयगत समितिमार्फत नीति निर्माण गर्ने अभ्यास थालिएको उहाँको भनाइ छ ।
नगरपालिकाले विषयगत समितिका संयोजक, सदस्य र सम्बन्धित शाखाका कर्मचारीहरू लगायतको सहभागितामा कार्यशाला सञ्चालन गरी आगामी आर्थिक वर्षको नीति निर्माण गरेको हो । नगरपालिकाले पहिलोपटक विषयगत समितिमा छलफल गरी नीति निर्माण गर्ने र सोहि नीति अनुसार बजेट तथा कार्यक्रम निर्माण गर्ने अभ्यास थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । सहि नीति बनाएर नीति अनुसार बजेट तथा कार्यक्रम तयर गरेर अघि बढेको अवस्थामा बजेट कार्यान्वयनमा पनि सहज हुने उहाँको भनाइ छ ।
नगरपालिकाले समय तालिका नै निर्माण गरी सङ्घीय र प्रदेश कानुनको अधिनमा रहेर आवधिक योजना, गुरुयोजना, आयोजना बैँक, मध्यमकालिन खर्च संरचना तथा विभिन्न सुझावहरूका आधारमा आगामी आर्थिक वर्षको नीति निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो । यसरी ऐनमा भएको व्यवस्था अनुसार नीति निर्माण गर्दा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लीजाको अङ्क वृद्धिभई सङ्घीय सरकारबाट आउने अनुदान समेत बढ्ने उहाँको भनाइ छ ।
स्थानीय आवश्यकता र मागभन्दा पनि भनसुन र सोर्सबाट विकासका कार्यक्रम जाने थितिको अन्त्य गर्न छलफल सञ्चालन गरिएको नगर प्रमुख लावतीको भनाइ छ । यो छलफलले हिउँदे अधिवेशन बोलाएर काम सम्पन्न नभएका योजनाको रकमान्तर गर्ने थिति पनि कमजोर हुँदै जाने नगर प्रमुख लावतीले बताउनुभयो ।