मुरारी अधिकारी
धादिङ, वैशाख २० गते । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमा क्षेत्रमा रहेका धादिङको उत्तरी क्षेत्र तिप्लिङमा (बिओपि) बोडर आउट पोष्ट स्थापना गरेको छ । उक्त पोष्टको गृह मन्त्री रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले एक कार्यक्रमका बिचमा सम्युक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
जनताको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको बताउँदै गृह मन्त्री लेखकले सीमा क्षेत्रका सुरक्षाका लागि विकट क्षेत्रमा स्थापना भएको प्रहरी पोष्टको क्षमता विस्तारलाई प्राथमिकता दिने बताउनुभयो । जनताको साथ सहयोगमा मात्र प्रहरीले काम गर्न सक्ने हुँदा स्थानीयले सुरक्षा निकायलाई साथ दिनुपर्ने र यहाँको बहुल्य जडीबुटी, रुवि, वन्यजन्तु आदिको सुरक्षामा स्थानीयको साथमा सुरक्षा निकायले काम गर्र्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्नुुहुँदै कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल स्थापनाले जिल्लाको उत्तरी क्षेत्रको शान्ति सुरक्षामा निकै बल पुग्ने बताउनुभयो । बहुमुल्य धातु, जडीबुटी, वन्यजन्तुको चोरी निकासी हुने गरेमा अब त्यो रोकिने विश्वास मन्त्री अधिकारीले गर्नुभयो ।
रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोडर आउट पोष्ट स्थापना कार्यक्रममा पूर्व मन्त्री टेकबहादुर गुरुङ, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलगायतको सहभागिता थियो ।
सीमा सुरक्षा बलको स्थापनासँगै सीमा इलाका सुरक्षाको मजबूती, स्थानीय बासिन्दाको शान्ति सुरक्षामा सुधार, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको रोकथाम र विपद् व्यवस्थापनमा राहत तथा उद्धारको व्यवस्था सहज हुने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । बीओपी स्थापनासँगै जिल्लाको दुर्गम सीमा क्षेत्रमा सुरक्षा प्रत्याभूति र नागरिक सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ ।
छिमेकी मुलुक चीनसँग जोडिएको यस पालिकामा वहुमुल्य रुवि लगायतका बहुमूल्यवान जडीबुटी पाइन्छ ।