• २० वैशाख २०८२, शनिबार

रोल्पामा एमबिबिएस चिकित्सक पठाइने

blog

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रोल्पाको त्रिवेणी गाउँपालिका पदाधिकारीबिच सहमति हुँदै । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, वैशाख  २०  गते ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पाको त्रिबेणि गाउँपालिकामा एमबिबीएस चिकित्सक पठाउने भएको छ ।

प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबीएसको पढाइ सुरु गर्न थालेपछि उक्त गाउँपालिकामा एमबिबिएस चिकित्सक पठाउने भएको हो ।

गाउँपालिकाको त्रिवेणी प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकको व्यवस्था भएसँगै स्थानीयले विशेषज्ञ सेवा पाउने आशा गरेका छन् ।

एमबिबिएस पढाइका लागि  प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै सो प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको रजिष्ट्रार लम्सालले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक छैनन् । त्यसले गर्दा बिरामीले सामान्य उपचारका लागि पनि दाङको घोराही आउनुपर्ने बाध्यता छ ।

हाल प्रतिष्ठानमा एमडिजिपीमा चिकित्सकले स्नातकोत्तर पढिरहेका छन् । तीमध्ये एक जनालाई निकट भविष्यमै त्यहाका लागि खटाउने तयारी प्रतिष्ठानले गरेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिबेणि गाउँपालिका बिच स्वास्थ्य सेवा र जनशक्ति व्यवस्थापनबारे शुक्रबार प्रतिष्ठानको कार्यालयमा सम्झौता भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगरका बिचमा सहमति भई सम्झौता जेठ १५ गतेदेखि लागू हुनेछ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र गाउँपालिकाका उपाध्यक्ष लेखमणि डागिको उपस्थितिमा दुवै पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसअघि रोल्पाकै होलेरिमा प्रतिष्ठानले एमबिबिएस चिकित्सक पठाई सेवा सुरु गरिसकेको छ ।