• २० वैशाख २०८२, शनिबार

विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण एकसाथ सुरु

blog

तस्बिर :कृष्णबहादुर धामी खलङ्गामा रहेको महेन्द्र माविमा भर्ना हुन आएका विद्यार्थी ।

खलङ्गा समाचारदाता  

दार्चुला, वैशाख २० गते  । दार्चुलाका सामुदायिक विद्यालयमा शुव्रmबारदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने कार्य एकसाथ सुरु भएको छ । विभिन्न माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक र सरकारबिच सहमति भएसँगै जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ नयाँ शैक्षिक सत्रको गतिविधि सुरु भएको हो । 

शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा ठप्प भएको शैक्षिक गतिविधि एकसाथ सुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । सामुदायिक विद्यालयले बिहीबार सूचना जारी गरेर शुक्रबारबाट शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण थालेका छन् । 

सदरमुकाम खलङ्गामा रहेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर जोशीका अनुसार शिशुदेखि १९ कक्षासम्म विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ । 

“प्रधानाध्यापक जोशीले भन्नुभयो, “वैशाख २ गतेदेखि नयाँ भर्नासँगै शैक्षिक गतिविधि हुनुपर्ने हो, शिक्षक आन्दोलनका कारण ढिलो गरेर शैक्षिक सत्र सुरु भयो, विद्यार्थीलाई परीक्षामा कुनै बाधा नपुग्ने गरेर कोर्स पूरा गर्छौं ।”

विद्यालयले वैशाख १९ देखि २४ गतेसम्म विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्ने तथा वैशाख २५ गतेदेखि पढाइ सुरु गर्ने जनाइएको छ । साथै सो विद्यालयमा कक्षा ११ को नियमित पठनपाठनसमेत शुव्रmबारबाट सुरु भएको छ । विद्यार्थी भर्ना उत्साहजनक रहेको विद्यालयले जनाएको छ । 

दार्चुलामा ३३३ सामुदायिक विद्यालयमा २६ हजार ६१५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी सङ्ख्याका आधारमा यसअघि नै पाठ्यपुस्तक दार्चुला पुगिसकेका छन् ।